संशोधन प्रस्ताव पारित गर्न भूमिका निर्वाह गर्छ : राजेन्द्र महतो

- काठमाडौँ, ३ पुस ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अहिलेको संविधान संशोधन प्रस्तावलाई उपलब्धिका रुपमा लिएर पारित गर्नका लागि पार्टीले भूमिका निर्वाह गर्ने बताएका छन् ।
आज काठमाडाैंमा अायाेजित एक अन्तक्र्रियामा अध्यक्ष महतोले अहिले प्राप्त भएका राजनीतिक उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिँदै संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित अघि बढाउनुपर्ने माग गरे ।
संविधान संशोधन प्रस्ताव संसद्मा छलफल गर्न अवरोध गर्नु नेकपा (एमाले) को प्रजातान्त्रिक आचरण विरोधी गतिविधि भएको बताउँदै उनले भने, “संशोधन प्रस्तावलाई संसद्मा छिर्नै नदिने कुरा संसदीय मूल्य र मान्यताविरुद्ध छ, यो एमालेलगायत दलले सच्याउनुपर्छ ।” प्रस्तावबारे संसद्मै छलफल गर्नुपर्नेमा जोड दिँदै उनले संसदीय प्रक्रियामा संसद्मा विरोध गर्न पाइन्छ, संसद्मै ल्याउन नदिने कुरा अप्रजातान्त्रिक हो ।
अध्यक्ष महतोले एमाले जिम्मेवार पार्टी भएकाले जनतालाई अधिकार दिनका लागि ल्याइएको संविधान संशोधन प्रस्तावमा सो पार्टीलेसमेत सहयोग गर्नुपर्ने बताए ।
उनले वैवाहिक अङ्गीकृतलाई नागरिकता दिने कुरा, राष्ट्रियसभामा जनसङ्ख्यालाई मूल आधार बनाउने कुरामा करिब कुरा मिलेको जानकारी गराउँदै सीमाङ्कनका बारेमा आफूहरुले झापादेखि कञ्चनपुरसम्म माग गरेकाले कुरा नमिलेको र सीमाङ्कन आयोगको प्रतिवदेनअनुसार अघि बढ्ने बताए । भाषासम्बन्धी कुरामा खासै विवाद नरहेको पनि उनले जानकारी गराए ।
प्रतिकृया दिनुहोस्
Loading...