सत्ता संचालकहरुले राजनीति भाषा नबुझे बन्दुक उठ्छ : बास्तोला


  • इमान्दार मिडिया संवाददाता
  • काठमाडौँ , २४ मंसिर । 

नेकपा (माआवादी)का स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले आफ्नो पार्टीले युद्ध नभएर शान्तिपूर्ण रुपमा जनतालाई अधिकार सम्पन्न गराउन चाहेको तर सत्ता संचालकहरुले आफ्नो राजनीतिको भाषा नबुझे बन्दुक अनिवार्य हुन सक्ने बताएका छन् ।

‘हाम्रो पार्टीले शान्तिपूर्ण राजनीतिको माध्यमबाट जनतालाई अधिकार सम्पन्न गराउन चाहेको छ, जनतालाई अधिकार पनि नदिने र हाम्रो शान्तिपूर्ण राजनीतिक भाषा नबुझे बन्दुक अनिवार्य हुने अवस्था आउन सक्छ’ बास्तोलाले भने ।

शुक्रबार बिहान काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्क सरसफाई कार्यक्रमपछि बोल्दै बास्तोलाले सत्ता समालेका नेताहरुले डलरको लोभमा देशलाई फोहोरी बनाएको बताए । ‘विदेशीसँग हात थाप्न देश र जनतालाई फोहोरी बनाइरहेका छन् । हामी त्यो फोहोरलाई सफाई गर्ने अभियानमा छौँ’ उनले भने ।

बास्तोलाले नेपालमा फोहोरी राजनीतिका अन्त्य नभएका कारण सिंहदरबार, बालुवाटारमा पुग्नेहरुको मन सफा नभएको बताए । उनले सत्ता संचालकको मन सफा नभएसम्म देश सफा नहुने बताए ।

पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयसेवक, संयुक्त उद्योग वाणिज्य महासंघका, बसपार्कस्थित र स्थानीय व्यवसायीहरुले संयुक्त रुपमा आयोजना गरेको सरसफई कार्यक्रममा बोल्दै बास्तोलाले विष्णुले सुगुरलाई स्वर्ग पुर्याएको कथा सुनाउदै भने,‘सुगुर फोहोरमा सबेको देखेर विष्णुले स्वर्ग लिएको तर सुगुर त्यहाँ फोहोर नभेटेपछि बस्न सक्दैन भनेपछि सुगुरलाई फिर्ता पठाइएको कथा र सिंहदरबारको कुर्सीमा पुग्नेहरु एउटै भएका छन् ।’ सत्ता संचालकहरुको मन सफा नभएका कारण देश सफा नभएको बास्तोलाले भने ।

कार्यक्रममा बोल्दै पार्टीका काठमाडौँ इन्चार्ज माइला लामाले आफ्नो पार्टीले देश सफा गर्ने अभियन चलाएको बताए । ‘हामीले बसपार्कको फोहोर मात्र होइन सिंहदरबारको राजनीतिक फोहोर पनि सफा गर्ने छौँ’ लामाले भने ।

सरफाई कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बाबुराम गजमेर, उत्तम, संगठनका अध्यक्ष झक बहादुर मल्ललगायत सरसफाईमा सहभागी भएका थिए ।

सोहि अवसरमा विभिन्न पार्टी परित्याग गरेर १ सय ५० जना नेकपा (माओवादी)मा प्रवेश गरेका थिए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...