पुस ७ गतेसम्मका लागि लोकमानको मुद्दामा पेसी स्थगित,वकील अस्वस्थ भन्दै सर्बोच्चमा निवेदन

  • काठमाडौं, १६ मंसिर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा बिहीबार चढेको पेसी स्थगित भएको छ।

उनको पक्षबाट बहस गर्ने वकिल वालकृष्ण न्यौपानेले आफू बिरामी भएको भन्दै पेसी स्थगित गर्न निवेदन दिएका थिए। पेसी आगामी पुस ७ गतेलाई सरेको छ। पुस ७ गते भने पेसी स्थगित गर्न पाइने छैन। सर्वोच्चले त्यस दिन वकिलहरुलाई समय व्यवस्थापन गर्न आदेश गरेको छ।

कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्तिको मुद्दा न्यायाधीशत्रय जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा राखिएको छ ।

अख्तियार प्रमुख हुन संविधानले माग गरेको योग्यता लोकमानसँग नभएको भन्दै निवेदन परेपछि सर्वोच्च अदालतले यसअघि आफैंले गरेको फैसला पुनरावलोकन गर्ने निर्णय गरेको थियो। उक्त मुद्दा न्यायाधीश जगदीश शर्मा पौडेल, डा. आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाको संयुक्त बेञ्चमा परेको छ।

लोकमानले अहिलेसम्म ५ जना वरिष्ठ र १० जना जानेमाने वकिल नियुक्त गरेका छन्। वरिष्ठ अधिवक्ता सुशील पन्त उनका प्रमुख अधिवक्ता हुन्। उनको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता महादेव यादव, बद्रीबहादुर कार्की, उपेन्द्र केशरी न्यौपाने र बालकृष्ण न्यौपानेले वकालतनामा लेखाइसकेका छन्। त्यस्तै कोमल घिमिरे, मुक्तिनारायण प्रधान, माधव बाँस्कोटा, माधव बस्नेत, कृष्णप्रसाद सापकोटा, सुरेन्द्र महतो, बाबुराम कुँवर, भीमार्जुन आचार्य र कुमार रेग्मी पनि लोकमानका वकिल भएर बहस गर्दै छन्।

लोकमानको विपक्षमा बहस गर्न पनि पाँच जना वरिष्ठ वकिल छन्। वरिष्ठ अधिवक्ता शम्भु थापा, श्रीहरि अर्याल, सतिशकृष्ण खरेल, रवि खनाल, रामप्रसाद गौडेलले रिट निवेदकको तर्फबाट लोकमानको विपक्षमा बहस गर्दै छन्। त्यस्तै, लोकमानको विपक्षमा बहस गर्न विजय मिश्र, टिकाराम भट्टराई, सुनिल पोखरेल, रमेश बडाल, चन्द्रकान्त ज्ञावली, बाबुराम दहाल लगायत ८० जनाले वकालतनामा लेखाइसकेका छन्।

यो मुद्दामा अधिवक्ता ओमप्रकाश अर्यालले लोकमानको नियुक्ति पाँच मुख्य कारणले अवैधानिक भएको जिकिर गरेका छन्।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...