काठमाडौंको बौद्धस्थित प्रहरी बिटमा गोली चल्यो, ५ प्रहरी घाइते


  • इमान्दार मिडिया संवाददाता ।
  • काठमाडाैं, २६ मंसिर ।
काठमाडौंको बौद्ध नयाँबस्तीस्थित प्रहरी बिटमा स्थानीयले तोडफोड गरेको छ ।

दोलखा चरिकोट घर भई नयाँबस्ती बस्दै आएका ३६ वर्षीय राजकुमार लामाको शंकास्पद मृत्युपछि आक्रोशित स्थानीयले आइतबार बिहानै प्रहरी चौकी आक्रमण गरेका थिए। प्रहरीले हिरासतमा लिएर कुटपिट गर्दा लामाको मृत्यु भएको स्थानीयको आरोप छ।

गौशालाका डिएसपी नवराज कार्कीले भने उपचार क्रममा मेडिकल कलेज अत्तरखेलमा उनको मृत्यु भएको दाबी गरे।

ट्याक्सी चालक लामा बेहोस अवस्थामा सडकमा फेला परेको र उनलाई स्थानीयले नै अस्पताल लगेको पनि कार्कीले जानकारी दिए। 'उनले चलाउने बा२झ २२३ नम्बरको ट्याक्सी उनी लडेको भन्दा केही पर ठोक्किएको अवस्थामा समेत फेला परेको थियो,' उनले सेतोपाटीसँग भने, 'यो केसमा प्रहरी कहीँकतैबाट पनि जोडिँदैन तै पनि हामीमाथि आक्रोश पोखेर स्थानीयले चौकी तोडफोड गर्नु दुखद कुरा हो।'

स्थानीय भने प्रहरीको भनाइसँग असहमत छन्। उनलाई मापसेकै निहुँमा नियन्त्रणमा लिइएको एक स्थानीयले बताए। प्रहरी हिरासतमै उनलाई कुटपिट गर्दा घाइते भएको र अस्पताल लगिएको पनि स्थानीयको आरोप छ। मृतकका आफन्तले पनि लामालाई प्रहरीले नियन्त्रण लिएको र उनको हिरासतमै मृत्यु भएको आरोप लगाएका छन्।

आक्रोशित भीडले प्रहरी चौकी बाहिर रहेका सुरक्षाकर्मीलाई कुटपिट गर्दै चौकीभित्र रहेका सई संजीव नापित र ५ जनालाई बाहिरबाट घेरेर पेट्रोल छर्केको डिएसपी कार्कीले दाबी गरे। उनका अनुसार आक्रमणकारीले चौकी अगाडि रहेका ४ वटा मोटरसाइकलमा आगो लगाएका छन्।

प्रहरीले चौकीबाट निस्केर दर्जनौं हवाइ फायर गरेको थियो। चौकी वरपर रहेका स्थानीयले खबर गरेपछि बौद्ध र गौशालाबाट गएको थप टोलीले चौकी आक्रमण गर्न पुगेकालाई तितरवितर गरेको थियो।आक्रमण गर्नेले प्रहरी चौकीका सिसा, झ्याल ढोका, गमला, टिभी, कुर्सी तोडफोड गरेका छन्।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रबुन्न कार्कीले इमान्दार मिडियासँगको कुराकानीका क्रममा चौकी तोडफोड भएको पुष्टि गर्दै घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको बताए ।

यस्तै उनले रेष्टुरेन्ट सञ्चालिका र अर्की एक युवतीलाई पनि पक्राउ गरिएको बताए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...