प्रचण्ड सरकार दिल्लीको इशारामा चल्छ - बिजुक्छे


  • भक्तपुर, २७ मंसिर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रको चेनअफ कमाण्ड दिल्लीमा रहेकाले सरकार पनि दिल्ली कै इशारामा चल्ने गरेको आरोप लगाएका छन् ।

बिजुक्छेले वर्तमान सरकार दिल्लीको ईशारामा चल्ने भएकाले देश खतरामा रहेको बताए । संविधानसंशोधन प्रस्ताव विरुद्धको जारी आन्दोलनलाई सरकारले नटेरेको बताउँदै बिजुक्छेले भने, ‘देशमा जारी आन्दोलनलाई बालुवाटार केन्द्रित गरेर हँुदैन, भारतीय दूतावास केन्द्रित गर्नुपर्छ, तब मात्रै आन्दोलन सफल हुन्छ ।’

उनले संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिएर निर्वाचन तर्फ केन्द्रित हुनुपर्ने समेत बताए । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले निर्वाचनको वातावरण बिथोलेको उनको भनाइ छ ।

उनले संशोधन बिधेयक भारतको इशारामा आएको र यो राष्ट्रघाती भएको बताउँदै मधेसका केही दलले विरोध गर्दैमा निर्वाचनको वातावरण अबरुद्घ गर्नु सरकारको ठूलो कमजोरी भएको बताए ।

अध्यक्ष बिजुक्छेले भने, ‘सरकारले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा निर्वाचनको कार्यक्रम अगाडि बढाउनु पर्छ, देशभर एकैपटक निर्वाचन गर्न नसके चरणबद्घ रुपमा निर्वाचन गर्न सकिन्छ, अबरोध भएका स्थानमा बढी फोर्स प्रयोग गरेर भएपनि निर्वाचन गर्नुपर्छ, सरकारले चाहे निर्वाचन सम्भव छ ।’

नेपालका लागि भारतीय राजदूत फिर्ताको विषयमा कुरा गर्दै बिजुक्छे भारतले आफ्नो प्रतिष्ठाको लागि पनि राजदूतलाई फिर्ता लानु पर्नेमा जोड दिए । बिजुक्छेले संविधान संशोधन गरि अंगिकृत नागरिकलाई देशको प्रमुख पदको जिम्मेवारी सुम्पे देश नरहने बताए।

, ,

प्रतिकृया दिनुहोस्

Loading...