जब नवौँ दिनमा झलमल्ल घाम देखियो ....


  • बर्दिबास, २७ मंसिर ।

महोत्तरीसहितका पूर्वी तराईमा आज नवौँ दिनमा झलमल्ल घाम देखिएपछि स्थानीय जनतामा खुसी छाएको छ ।

गएको १९ गते आइतबार बिहानदेखि बाक्लो हुस्सुसँगै लगातार चिसो सिरेटो चलेर मुटु कमाउने जाडो बढिरहेकैबीच आज दिउँसो झलमल्ल घाम लागेपछि यस क्षेत्रमा खुसी छाएको हो ।

आज मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेको महोत्तरी जिल्लाका सबै भेगमा दिउँसो झलमल्ल पारिलो घाम लागेको छ । जिल्लाको सुदूर पूर्वउत्तरको पर्साहीधापदेखि सुदूर पूर्वदक्षिणको मटिहानीसम्म करिब एउटै समयमा घाम देखिएको हो ।

जिल्लाको सुदूर पश्चिमउत्तरको खयरमारादेखि सुदूर पश्चिमदक्षिणको खैरबनीमा समेत झलमल्ल घाम देखिएपछि सर्वसाधारणले लगलगी कमाउने जाडोबाट केही हदसम्म छुटकारा पाएको बताएका छन् । झलमल्ल घाम देखिएसँगै जिल्लाका बर्दिबास, जलेश्वर, गौशाला, सीतापुर, मटिहानी, सम्सी र रामगोपालपुरसहितका बजारमा निकै चहलपहल बढेको छ ।

नौ दिनसम्मको बाक्लो हुस्सुका कारण ग्राहकले धुन दिएका लुगा थन्क्याएर राखेका लुगा धुने पेसाका धोबीहरु घाम देखिनासाथ लुगा धुने र सुकाउने काममा व्यस्त देखिएका छन् । नौ दिनदेखि घरमा थुपारिएका लुगा धुन पाएको लुगा धुने पेसा अपनाएका भङ्गाहा–८, सीतापुरबजारका इस्राफिल धोबीले बताए ।

मौसममा सुधार देखिनासाथ पशुपालक किसान पनि घरपालुवा पशुवस्तुलाई चराउन लगेका छन् । नौ दिनपछि आकाश सफा भएर घाम देखिएकाले अब केही दिन हुस्सु नलाग्ने सर्वसाधारणले लख काटेका छन् । महोत्तरीसँग सीमा जोडिएका धनुषा र सर्लाही जिल्लामा पनि आज पारिलो घाम लागेको बताइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...