क्यालेन्डर बनाएर तीन तहको निर्वाचन गराइन्छ : देउवा 


  • काठमाडौँ, २७ मंसिर ।


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले क्यालेन्डर बनाएर २०७४ साल माघभित्र तीन तहको निर्वाचन सम्पन्न गराइने बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घले आज आयोजना गरेको ‘संविधान कार्यान्वयन, स्ववियु निर्वाचन, शैक्षिक सुधार र सङ्गठन सुढृढीकरणका लागि ६ महिने सदस्यता वितरण तथा जनजागरण अभियान’ कार्यक्रममा सभापति देउवालेभने, “निर्वाचन नभएर देश पछाडि परिसक्यो । देशलाई विकासको बाटोमा उन्मुख गर्न कुनै पनि हालतमा चुनाव हुन्छ । चुनाव रोकिँदैन ।”

सभापति देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आफूले निर्वाचन गर्ने विषयमा हिजो मात्रै छलफल गरेको बताउँदै एमाले निर्वाचनको पक्षमा रहेको स्पष्ट पारे । एमाले अध्यक्षसँग मिलेसम्म नयाँ स्थानीय संरचना नभए पुरानो संरचनाका आधारमा भए पनि स्थानीय निकायको निर्वाचन गर्नेबारेमा आफ्नो कुराकानी भएको उनले बताए।

पूर्वप्रधानमन्त्री देउवाले संविधान संशोधनप्रति असन्तुष्टि भन्दै एमालेले मधेस र पहाडबीच झगडा गराएर देशमा विभाजन ल्याउन खोजेको आरोप लगाए । उनले भने, “पहिला प्रदेश नं ५ को मगर समुदायमा बसेका मानिस प्रदेश नं ४ को गुरुङ समुदायमा बस्दा के हुन्छ ?”

उनले नेविसङ्घ बलियो भएमा मात्र मुलुक बलियो हुने भन्दै आगामी स्ववियुको निर्वाचनमा नेविसङ्घलाई जिताउन सबै विद्यार्थी एक भएर लाग्न निर्देशन दिनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान परिमार्जन हुँदै जाने दस्तावेज भएको बताउँदै संविधान संशोधनका विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आउनु दुःखद भएको बताए।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयन नेपाली काँग्रेसकै अग्रसरतामा हुने बताए। उनले पार्टीमाथि प्रतिबन्ध रहेका बेलासमेत नेविसङ्घले पार्टीको भूमिका खेलेको स्मरण गर्दै संविधान कार्यान्वयनका लागि अहिले नेविसङ्घले दबाब सिर्जना गर्नुुपर्ने बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...