दैलेखमा एलपी ग्यासको खानी भेटियो, सिलिन्डरमा भरेर बिक्री गर्न मिल्ने !


काठमाडौं, २६ मंसिर ।

नेपालमा पनि लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भएको छ । दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा पेट्रोलियम ग्यास उत्खननको सम्भावना रहेको चिनियाँ सहयोगमा गरिएको सरकारी स्तरको अध्ययनले देखाएको हो ।

सरकारले चीनबाट ल्याएको प्राविधिक तथा वैज्ञानिक सम्मिलित टोलीको सहयोगमा दैलेख लगायतका क्षेत्रमा पेट्रोलियम ग्यासको खानी रहेको भन्दै प्रारम्भिक रिपोर्ट बनाएको छ । गत वर्ष फिल्डमा खटिएको टोलीले चीन सरकारलाई बुझाएको रिपोर्ट भर्खरै नेपालमा आइपुगेको छ र यसले सरकारलाई उत्साहित गराएको छ ।

रिपोर्टअनुसार दैलेखको ग्यास काठमाडौंको जस्तो प्राकृतिक मिथेन ग्यास होइन । त्यहाँबाट उत्खनन् हुने ग्यास सिलिन्डरमा भरेर बिक्री गर्न योग्य छ । काठमाडौंको ग्यास भने पाइपबाट मात्रै भान्सामा पु¥याउन सकिने किसिमको हो ।

नेपालमा पेट्रोलियम तेलको सम्भावना रहेको पुष्टी यसअघि नै भएपनि एलपी ग्यासको बारेमा भने अहिलेसम्म औपचारिक अध्ययन हुन सकेको थिए ।

चिनियाँ वैज्ञानिकको टोलीले गत मंसिरमा नेपालका विभिन्न क्षेत्रहरुको भ्रमण गरी त्यहाँबाट विभिन्न प्रकारका चट्टानहरुको नमूना संकलन गरेर अध्ययनका लागि चीन लगेको थियो । उनीहरुले चीन सरकारलाई बुझाएको प्रारम्भिक प्राविधिक रिपोर्ट अहिले उद्योग मन्त्रालयमा आइपुगेको हो ।

दैलेखमा पेट्रोलियम ग्यासको सम्भावना पुष्टि भएपछि सरकार अहिले यससम्बन्धी बिस्तृत रिपोर्टको पर्खाइमा छ । चीनले केही साताभित्रै प्राविधिक टोलीले तयार गरेको बिस्तृत रिर्पोट परराष्ट्र मन्त्रालयमार्फत नेपाल पठाउने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

‘दैलेखमा पेट्रोलियम ग्यास रहेको पुष्टि भयो । तर, अझै यसको उत्खनन्बारे यो अध्ययन पर्याप्त छैन’ ती अधिकारीले भने,‘यो रिपोर्ट प्रारम्भिक मात्रै भएकाले यो विषयमा धेरै कुरा अहिले नै भन्न सकिन्न ।’

रिपोर्टबारे खानी विभागले मन्त्रालयमा औपचारिक ‘ब्रिफिङ’ पनि गरिसकेको छ । अध्ययनकै क्रममा चिनियाँ टोलीले ग्यास र पेट्रोलको सम्भाव्यताबारे सकारात्मक प्रतिक्रिया दिएका थिए । त्यसैले बिस्तृत रिपोर्ट आएपछि यसबारे थप योजना बनाउने मन्त्रालयका अधिकारी बताउँछन् ।

चिनियाँ टोलीले ग्यास रहेको पुष्टि गरे पनि त्यहाँ कति मात्रामा ग्यास छ भन्ने पत्ता लागेको छैन । किनभने उनीहरुले यो पटक ग्यासको सम्भाव्यताबारे मात्रै अध्ययन गरेका हुन् ।

अब त्यहाँ व्यवसायिक रुपमा ग्यास उत्पादन गर्न पुग्ने परिमाणमा ग्यास भए÷नभएको बारे अर्को चरणमा अध्ययन गर्नुपर्नेछ ।

अध्ययनले व्यवसायिक रुपमा दैलेखमा ग्यास उत्खनन् गर्न सकिन्छ भन्ने प्रमाणित नगरेसम्म उत्खन््न अघि बढाउन नसकिने मन्त्रालय स्रोतले जनाएको छ ।

‘जमीनभित्र कति परिमाणमा ग्यास छ ? त्यो उत्खनन् गर्दा आर्थिक कति खर्च लाग्छ ? लगायत विषयमा थप अध्ययन हुनुपर्छ’ ति अधिकारीले भने, ‘यदि त्यो ग्यास उत्खखन् गर्न धेरै ड्रिल गर्नुपर्ने, ग्यास पनि थोरै परिमाणमा हुने, र उत्पादन पनि खासै नहुने हो भने खर्च मात्रै त गर्न सकिँदैन ।’

चीनले यो अध्ययनको विस्तृत रिपोर्ट दिएपछि त्यसैका सुझावका आधारमा अघि बढ्ने योजनामा सरकार छ ।


गतवर्ष नाकाबन्दीका समयमा भारतले एलपी ग्यासको आपूर्तिमा समस्या सिर्जना गरेपछि केपी ओली नेतृत्वको सरकारले नेपालमा पेट्रोलियम पदार्थ र ग्यासको अध्ययन गर्न चीनलाई निम्तो दिएको थियो ।

त्यसैका आधारमा चिनियाँ टोलीले नेपालमा विभिन्न सम्भाब्य पेट्रोलियम खानीहरुमा पुगेर अध्ययनका लागि नमूना संकलन गरेको थियो ।

दैलेखको श्रीस्थान, नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ । श्रीस्थानमा झण्डै ३ सय वर्षदेखि अखण्ड रुपमा बत्ति बलिरहेको छ । यसबाट पनि सरकारले सो स्थानमा ग्यास सरको अनुमान गरेको थियो ।

स्थानीयले लामो समयदेखि त्यहाँ पेट्रोलियमको सम्भावना रहेको भन्दै उत्खनन् गर्नपर्ने माग गरिरहेका भए पनि, सरकारले यसमा खासै चासो देखाएको थिएन । 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...