बस गुडिरहेको बेला पोखरामा एक्कासी सडक भासिएपछि...


  • पोखरा, २१ मंसिर ।
बेलाबेला जमिन भासिने गरेको पोखरामा मंगलबार एकाविहानै पिच सडकमै भ्वाङ पर्दा गुडिरहेको बस भ्वाङमा परेको छ । पोखरा-बाटुलेचौरको चमेरेगुफा जाने बाटोको पिच सडक भासिदा यात्रुबस सो भ्वाङमा परेको हो ।

चमेरेगुफाबाट लामाचौरतर्फ आउँदै गरेको पोखरा बस व्यवसायी समितिको ग १ ख ७०३३ नम्बरको बस विहान ५ बजे नै भ्वाङमा परेको स्थानिय सुवास अधिकारीले जानकारी दिए । गुडिरहेका बेला एक्कासी भ्वाङ पर्दा बस भ्वाङमा परेको उनले बताए ।

चमेरेगुफा बस स्ट्याण्डबाट बस गुडेको एक मिनेट पनि नबित्दै बस भ्वाङमा परेको पोखरा बस ब्यवसायी समितिका सचिव अमृत तिमिल्सिनाले बताए । भ्वाङमा परेको बस क्रेनको सहायताले निकालिएको छ । करीब साढे २ घण्टा पछि निकालिएको सो बसमा सामान्य क्षति पुगेको सचिव तिमिल्सिनाले जानकारी दिए ।

बस एक्कासी भासिएपछि आफू एकछिन त्रसित बनेको बसका चालक सर्बोजित रेग्मीले बताए । खानेपानीको पाइप फुटेर पानी लिक भएर जमेका कारण भ्वाङ परेको नेपाल खानेपानी संस्थान पोखराका प्राविधिक तथा विन्ध्यवासीनी खानेपानी इकाइका प्रमुख दिनेश्वर प्रसाद यादवले बताए ।

कालीखोलाबाट ल्याइएको पानीको पाइप फुटेको उनको भनाई छ । यस घटनापछि आफूहरु थप सचेत भई पाइपबाट पानी चुहिन नदिने प्रयासमा जुट्ने उनले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...