गाविस सचिवलाई मन्त्रालयले दियो यस्तो चेतावनी

- काठमाडौं, २५ मंसिर ।
स्थानीय विकास मन्त्रालयले अहिले पनि केही संख्यामा गाविस सचिवहरु सदरमुकाममै बसिरहेको भन्दै उनीहरुलाई तत्काल आफ्नो कार्यक्षेत्रमा जान निर्देशन दिएको छ ।
सरकारको निर्देशन विपरित केही गाविस सचिव सदरमुकाममा बसेर काम गरिरहेको पाइएकाले मन्त्रालयले उनीहरुलाई आ-आफ्नो तोकिएको गाविसमा बसेरै काम गर्न चेतावनी दिएको हो ।
यस्तै उनीहरुलाई यथाशिघ्र तोकिएको क्षेत्रमा पठाउन जिल्ला विकास समितिहरुलाई पनि निर्देशन दिइएको छ । मन्त्रालयले गत आर्थिक वर्ष अनुगमन गर्दा पनि गाविस सचिवहरु सदरमुकाममा बसेर काम गरेको पाइएको थियो । यस्ता कमजोरी नगर्न मन्त्रालयले तत्काल सचेत समेत गराएको थियो । मन्त्रालयले केहीदिन अघि निर्देशन जारी गरी सचेत गराएको हो ।
यसैगरी मन्त्रालयले गुनासो व्यवस्थापनका लागि सुशासन इकाई गठन गरी त्यसलाई क्रियाशील बनाउन पनि हरेक जिल्ला विकास समितिका कार्यालयहरुलाई निर्देशन दिएको छ ।
यसैगरी मन्त्रालयले हरेक आयोजनाको जाँचपास गर्नुअघि सार्वजनिक परीक्षण गर्न समेत निर्देशन दिएको छ । यसअघि भएको अनुगमनमा सबै आयोजनाको सार्वजनिक परीक्षण गरेको नभेटिएको र त्यसको कार्यान्वयनमा गम्भिरता नदेखाइएको पनि भेटिएको थियो ।
त्यही अनुगमनका आधारमा आयोजनाहरुको जाँचपास अघि अनिवार्य रुपमा सार्वजनिक परीक्षण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...