विद्युत्भार कटौतीमुक्त योजना ल्याउन ऊर्जामन्त्री दिए यस्तो निर्देशन

  • काठमाडौँ, १६ मङ्सिर ।

ऊर्जा मन्त्रालयले हाल काठमाडौँ उपत्यकामा जारी रहेको विद्युत्भार कटौतीमुक्त अभियानलाई निरन्तर अगाडि बढाउन, चुहावट नियन्त्रण गर्न र विद्युत् चोरी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

गत दशैँबाट सुरु भएको विद्युत्भार कटौतीमुक्त अभियान अगाडि बढिरहेको सन्दर्भमा आगामी दिनमा पनि त्यसलाई थप प्रभावकारी बनाउन तथा मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने विषयमा ऊर्जाले प्राधिकरणसँग कार्ययोजनासहित आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक र विभागीय प्रमुखलाई मन्त्रालयले लामो समयदेखि रोकिएका आयोजना तथा मन्त्रालयले गर्नुपर्ने सहयोग विषयमा समेत प्रष्ट खाका ल्याउन भनेको छ । निकट भविष्यमा नै भारतबाट थप विद्युत् आयात हुन लागेको सन्दर्भमा त्यसको व्यवस्थापनका लागि आवश्यक तयारी गर्न, सवस्टेसनको सुधार तथा प्रणाली व्यवस्थापनमा समेत ध्यान दिन उर्जाले निर्देशन दिएको छ ।

आगामी एक महिनाभित्र ढल्केबरमा सवस्टेसनको काम सम्पन्न हुने तथा थप ८० मेगावाट विद्युत् उपलब्ध हुने हुँदा आवश्यक व्यवस्थापन जरुरी छ । ऊर्जामन्त्री जनार्दन शर्माले कुनै पनि आयोजनाका काम रोकिन नहुने, एक हप्तामा सबै आयोजनाको प्रगति प्रतिवेदन पठाउनुपर्ने र विद्युत् चुहावट नियन्त्रण अभियानलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

टनकपुरमा थप क्षमताको ट्रान्सफर्मर जडान हुने

प्राधिकरणले भारतबाट थप विद्युत् ल्याउन भारतको टनकपुरमा रहेको प्राधिकरणको सवस्टेसनमा १०० एमभिएको ट्रान्सफर्मर जडान गर्ने भएको छ । हाल सञ्चालनमा रहेको ५० एमभिएको ट्रान्सफर्मरबाट थप विद्युत् ल्याउन नसकिने भएकाले ट्रान्सफर्मरको क्षमता थप गर्न लागिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए।

प्राधिकरणका उच्च अधिकारी र भारतका अधिकारीले गरेको स्थलगत अध्ययनको क्रममा हाल सञ्चालनमा रहेको सवस्टेसनमा अर्को ट्रान्सफर्मर राख्ने स्थान अभावका कारण सानो क्षमताको ट्रान्सफर्मर हटाएर सय एमभिएको ट्रान्सफर्मर राख्न सुझाव दिएका थिए । 

हाल टनकपुरबाट ३० मेगावाट विद्युत् आयत गरिएको छ । क्षमता थप भएपछि थप ३० मेगावाट विद्युत् आयात हुनेछ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...