महिला एसिया कप - नेपाल र थाइल्याण्डबीचको भीडन्त आज


काठमाडौं, १६ मंसिर ।
एसिसी महिला एसिया कप क्रिकेटमा बिहीबार नेपालले आयोजक थाइल्याण्डसँग खेल्दैछ । टेस्ट मान्यता नपाएका नेपाल र थाइल्याण्डले यसअघि भएका आफ्ना तीनै खेल गुमाएका छन् ।

खेल नेपाली सयम अनुसार बैंककमा राति पौने ९ बजे हुनेछ । दुवै टोलीलाई यो खेल प्रतियोगितमा जित निकाल्ने मौका हो । शक्तिशाली देशसँग खेलिसकेकाले दुवै टोली दबाबमुक्त भएर मैदान उत्रने छन् ।

प्रतियोगिता पूर्व भएको अभ्यास खेलमा नेपाल थाइल्याण्डसँग १९ रनले हारेको थियो । तर बिहीबारको खेलमा प्रदर्शन सुधार गर्ने नेपाली टोलीका प्रशिक्षक राजु बस्न्यातको भनाई छ ।

थाइल्याण्ड यसअघि भएका खेलमा भारतसँग ९ विकेट, बंगलादेशसँग ३५ र श्रीलंकासँग ७५ रनले पराजित भएको थियो । यस्तै नेपालले पनि यसअघि भएका तीनै खेलमा हार व्यहोरेको छ । नेपाल पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले हारेको थियो ।

अहिलेसम्मको प्रदर्शनका आधारमा नेपाल प्रतियोगिताकै कमजोर टिम देखिएको छ । तर बिहीबार जित निकाल्दै केही राहत मसुस गर्ने मौका भने छ । गएको महिना बैंककमै भएको विश्वकप छनौट महिला क्रिकेटमा नेपाल थाइल्याण्डसँग भएका दुई खेलमा तीन र एक विकेटले पराजित भएको थियो ।

थाइल्याण्डमा जारी प्रतियोगिताका अहिलेसम्म भएका तीन खेलमा नेपाली टोलीका एक एक खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाएका छन् । पाकिस्तानसँगको खेलमा कप्तान रुबिना क्षेत्रीले ११, श्रीलंकासँगको खेलमा ज्योति पाण्डेले १६ तथा बंगलादेशसँगको खेलमा सीता रानामगरले १५ रन बनाइन् । अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाली टोलीमा ब्याटिङ निकै कमजोर देखिएको छ । यस्तै बलिङ र फिल्डिङ पनि कमजोर तथा टिम समन्वय, आत्मविश्वास र धैर्यको कमि नेपाली टोलीमा छ । थाइल्याण्डसँगको खेलमा यि कमजोरी हटाउनु पर्नेछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...