यस कारण फेरि खिचियो 'दर्पण छायाँ–२' को क्लाइमेक्स


दार्जिलिङममा फिल्म ‘दर्पण छायाँ–२’ को महत्वपूर्ण दृष्य पुनः छायाँकन गरिएको छ।

‘भीएफएक्स’ प्रविधिको सहायतामा क्लाइमेक्सलाई आकर्षक ढंगले प्रस्तुत गर्ने निर्देशक तुलसी घिमिरे योजना प्राविधिक कारणले असफल भएपछि पुन: सुटिङ गर्नुपरेको हो।

फिल्मका दृष्यलाई आकर्षक बनाउने प्रविधि अर्थात् भीएफएक्स गर्न जय गिरीलाई दिइएको थियो। उनले सुरुमा राम्रो गर्ने बताएपनि निर्देशक घिमिरेको अपेक्षा पूरा गर्न सकेनन्। सुटिङ पूरा गरेर डबिङ थालेका निर्देशक घिमिरेले फेरि सुटिङ गर्ने जोखिम यही कारणले मोलेका हुन्।

झण्डै १५ मिनेटको क्लाइमेक्स सुटिङ तीन दिन लगाएर दार्जिलिङको जीटीए सभा हलमा गरिएको हो। सो दृष्यका लागि दार्जिलिङका ३० जना संगीतकर्मी जम्मा भएका थिए।

सकेसम्म स्तरीय र वास्तविक देखाउने प्रयास गरिएको घिमिरेले बताए। उनले भने, ‘हामीले यही दृष्यलाई भीएफएक्स गर्न एक चरणको सुटिङ गरिसकेका थियौं। तर, यसको जिम्मा लिएका जय गिरीले राम्रो गर्न सकेनन्।’

फिल्मको क्लाइमेक्समा रहेको नृत्यका कोरियोग्राफर भारतीय टेलिभिजन स्टार प्लसले गर्ने ‘डान्स प्लस’ सिजन २ का मिङ्मा दोर्जी लेप्चा हुन्।

फिल्ममा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य छन्।

२०७३ पुस २४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...