नेपाली भूमिमा चिनियाँ तस्कर, झोला बेच्ने निहुँमा डलरको तस्करी
- काठमाडौं, ४ माघ ।
पछिल्लो समय नेपाली भूमिमा चिनियाँ अपराधीहरुको चलखेल बढेको छ । लागू औषधदेखि डलरको तस्करीका घटना चिनियाँ नागरिकको संलग्नता खुल्न थालेको छ ।
गत शनिबार राति नागढुंगाबाट ४ करोड विदेशी मुद्रासँगै समातिएका तीन जना चिनियाँ नागरिकहरु झोला व्यापारीका रुपमा काठमाडौंमा बस्ने गरेको खुलेको छ ।
डदरसँगै पक्राउ परेर हाल प्रहरीको अपराध महाशाखाको नियन्त्रणमा रहेका चिनियाँ पुरुष चाङ तोङ फाङले नेपाली भाषा बुझ्ने र बोल्नसमेत सक्ने प्रहरीले बताएको छ । प्रहरीका अनुसार सन् २०१६ भरि भिसा थप्दै नेपालमा बस्दै आएका चाङ तोङ फाङ स्पष्ट नेपाली बुझ्न सक्छन् र बोल्न पनि सक्छन् ।
सँगै समातिएका चिनियाँ महिला चाउ स्यलिङ र चाउ लियाङ फङ पनि एक वर्षदेखि नेपालमा बस्दै आएका थिए । झोला व्यवसायका नाममा ठमेलको होटल गजुरमा बस्दै आएका तीनैजनाको राहदानी नेपालकै भिसाले भरिएको छ ।
प्रहरीसँगको बयानमा तीनै जना चिनियाँले बरामद ४ करोड विदेशी मुद्रा क्यासिनोबाट संकलन गरेको वयान दिएका छन् ।
तीन चिनियाँसँगै पक्राउ परेका स्कार्पियोका चालक पेम्बा तामाङका अनुसार काठमाडौंबाट रसुवातिर गएका चिनियाँहरु अधिकांश फेरि काठमाडौं नै फर्किने गरेका छन् । पेम्पाले भने- ‘रसुवा नाकाबाट चीनतिर जाने, फेरि फर्किने थुप्रै चिनियाँहरु हुन्छन् । तर, तिनको धन्दा हामीलाई थाहा हुँदैन ।’
यतिबेला ठमेलमा चिनियाँहरुले थुप्रै होटल खोलेका छन । तर, ती होटलमाथि निगरानी नहुँदा तस्करीमा चिनियाँहरु सक्रिय हुन थालेको प्रहरीको भनाइ छ ।
सडक र हवाइ दुवै मार्गबाट डलर तस्करी गर्न चिनियाँहरु सबैभन्दा बढी सक्रिय हुने गरेको प्रहरीको दाबी छ ।
करिब २ वर्ष अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० वर्षीया चिनियाँ महिला युङलो अवैध रुपमा लैजान लागिएको अमेरिकी डलरसहित पक्राउ परेकी थिइन् । उनी चाइना साउदर्न एयरको उडान नं CZ ३०६८ बाट ग्वान्जावो जान लागेकी थिइन् । १ लाख १३ हजार अमेरिङ डलर लिएर चीन जान लागेकी युङलो ब्यागेजमा फल्सबटम बनाएर डलर लैजाँदै गर्दा पक्राउ परेकी थिइन् ।
युङलो एक वर्षमै १६ पटकसम्म नेपाल आएकी थिइन् । प्रहरीका अनुसार उनले एकै दिनमा डलर बोकेर नेपाल चाइना ओहोर-दोहोर गरेको समेत भेटिएको थियो ।
यसैवीच तातोपानी नाका बन्द नहुँदासम्म चिनियाँहरुले डलर तस्करीका लागि सिन्धुपाल्चोकको रुट प्रयोग गर्ने गरेका थिए । तातोपानी नाका बन्द भएपछि उनीहरु विमानस्थल र रसुवागढी नाकातिर लागेका छन् ।
डलर तस्करीकै आरोपामा दुइ वर्षअघि काठमाडौंको कोटेश्वरबाट १४ जना चिनियाँहरु एक साथ पक्राउ परेका थिए । मध्यरातमा तीन लाख ९७ हजार अमेरिकी डलर, एक लाख १८ हजार युरोसहित ११ महिला र ३ पुरुष चिनियाँ नागरिकहरु पक्राउ परेका थिए ।
आर्थिक वर्ष ०६८/०६९ मा मात्रै विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा ४० जना चिनियाँ नागरिकहरु नेपालमा पक्राउ परेका थिए ।
त्यस्तै ०६९/०७० मा १० चिनियाँ नागरिकलाई गैरकानुनी गितिविधिमा संलग्न रहेको भन्दै प्रहरी कार्वाहीको दायरामा ल्याएको थियो ।
प्रहरीका अनुसार पछिल्लो दुई वर्षमा मात्रै ३० भन्दा बढी चिनियाँहरु नेपालमा पक्राउ परेका छन् । पक्राउ परेका अधिकांश चिनियाँमाथि अवैध मुद्रा तस्करीकै आरोप लाग्ने गरेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...