पूर्वपति मोहनले दिने भए कञ्चन रेग्मीलाई ११ लाख

  • काठमाडौं, १७ माघ । 
सञ्चार माध्यममा गलत बोलेर चर्चामा आएकी कञ्चन शर्माका पूर्वपति मोहन रेग्मीले उनलाई ११ लाख रुपैयाँ दिने तयारी गरेको बताएका छन् ।

रेग्मीले आफूहरू कानूनी रूपमा पहिलै अलग्गिएको भएतापनि शर्मालाई सहयोगस्वरूप सो रकम उपलब्ध गराउन लागेको जानकारी दिए ।

डिभोर्सका बेला १० लाख रुपैयाँ दिने भनिएको भएपनि कसलाई दिने भन्ने अन्यौलताका कारण मोहनले कञ्चनलाई रकम दिन सकेका थिएनन् ।

टेलिभिजन प्रस्तोता सुमन खरेलको कार्यक्रममा घरपरिवारबाट गलहत्याइएकी पात्रको रूपमा कञ्चन शर्मालाई प्रस्तुत गरेपछि उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस भएको थियो ।

कार्यक्रमका सञ्चालकले समेत उक्त अन्तर्वार्तालाई मानवीय त्रुटिको रूपमा रेग्मीसँग माफी मागेका थिए ।

‘मैले डिभोर्स हुनेबित्तिकै १० लाख रुपैयाँ दिने वाचा गरेको थिएँ, तर कञ्चन कुलतमा लागेपछि रकम दिन नसकेर दोधार भएको थियो,’ मोहनले भने, ‘अब चाहिँ कञ्चनको आमालाई भएपनि सो रकम दिने अन्तिम तयारी गरेको छु ।’

एक महिनाभित्रमा कानूनी प्रक्रिया मिलाएर ११ लाख रुपैयाँ दिने उनले बताए । दीक्षा चापागाईंको संस्था पवित्र समाज सेवामा बसिरहेकी कञ्चनलाई रेग्मीले रकम दिन नसकेका हुन् ।

दीक्षाले आफूलाई नियोजित रूपमा बेइज्जत गरेकाले उनको संस्थामा पैसा जानेगरी रकम दिन आफू तयार नभएको समेत उनले बताएका छन् । 

आफूले दिएको पैसा कञ्चनको पालनपोषणमा नै खर्च होस् भन्ने आफूले चाहेको उनले बताए । साथै उनले आफूलाई बदनाम गराउने दीक्षा चापागाईंले सञ्चालन गरेको संस्थाको छानबिन हुनुपर्ने माग पनि गरेका छन् ।

बाजुराका मोहन र ओखलढुंगाकी कञ्चनका बीचमा मागी विवाह भएको थियो । तर कञ्चन कुलतमा फँस्दै गएपछि उनीहरूको घरबार बिग्रिएको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...