लेखा समितिको सभापतिका लागि अाज चुनाव हुदै

  • काठमाडौं,१७ माघ ।

व्यवस्थापिका संसदको निकै प्रभावशाली समिति सार्वजनिक लेखा समितिको सभापतिका लागि सोमबार चुनाव हुने भएको छ ।

जनार्दन शर्मा उर्जामन्त्री भएपछि खाली रहेको सभापतिमा सत्तारुढ दलका तर्फबाट माओवादी केन्द्रका डोरप्रसाद उपाध्याय र एमालेका पशुपति चौंलागाईले उम्मेद्वारी दिएका छन् ।

कुनै आश्चर्य नभएसम्म मधेसी दलका सांसदले पनि समर्थन गर्ने लगभग निश्चित भएकाले उपाध्याय लेखा समितिको सभापति हुने सम्भावना बलियो छ । सामान्यतया लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने प्रचलन भएपनि कांग्रेस र माओवादीले उपाध्यायलाई उम्मेद्वार बनाएका हुन् ।

माओवादीको भागमा परेको लेखा समितिको सभापति लिन एमालेले अर्को समितिको नेतृत्व नछोडकाले उम्मेद्वारी दिनुपरेको सत्तारुढ दलको दाबी छ ।

लेखा समिति छोड्दा माओवादीको एउटा मात्र समिति हुने र एमालेसँग कांग्रेसभन्दा पनि बढी अर्थात ५ वटा समितिको नेतृत्व हुने भएकाले उपाध्यायलाई अघि सार्नुपरेको कांग्रेसका सांसद रामहरी खतिवडाले बताए ।

१२ वटा समितिमध्ये कांग्रेस र एमालेले चार/चार तथा माओवादीले दुईवटा समितिको सभापति पाएका छन् । कुनै अर्को समितिको नेतृत्व छोडेर लेखा समितिको सभापति लिन आग्रह गरेपनि एमालेले नमानेको खतिवडाले दाबी गरे ।

तर एमालेका मुख्य सचेतक भानुभक्त ढकालले भने लेखा समितिको सभापति एमालेलाई दिए अर्को कुनै विषयगत समितिको सभापति छोड्न तयार रहेको बताएपनि माओवादीले नमानेको बताए ।

आफै प्रधानमन्त्री आफ्नै पार्टीको अर्थमन्त्री अनि लेखा समिति पनि आफ्नै पार्टीको हुनुपर्ने प्रधानमन्त्रीको सोच रहेको र यसले निरंकुशता जन्माउने ढकालले बताए ।

सार्वजनिक लेखा समितिमा अहिले ४९ जना सदस्य छन् । जम्मा ५० सदस्यीय समिति रहेकोमा सद्भावनाका सांसद सञ्जय शाह निलम्बनमा रहेकाले समिति ४९ सदस्यीय भएको हो । जसमा कांग्रेस र एमालेका १५/१५, माओवादीका १० र मधेसीसहित साना दलका १३ जना सांसद छन् ।

कांग्रेसका सांसदहरु धनराज गुरुङ कोरीयामा, हरि नेपाल पाल्पामा र पार्वती डिसी चौधरी दाङमा हुनुहुन्छ भने एमालेका विष्णु पौडेल अष्ट्रेलियामाछन् । मधेसी दलका सांसदले माओवादीकै उम्मेद्वारलाई सहयोग गर्ने लगभग निश्चित जस्तै रहेकाले माओवादीका उपाध्याय समितिको सभापति चुनिने सम्भावना धेरै छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...