३४ किलो अवैध सुन तस्करी काण्ड : भन्सारका दुई अधिकृत सीआईबीको नियन्त्रणमा


  • काठमाडौं, २८ पुस । 

अवैध सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले भन्सारका दुई अधिकृतलाई पक्राउ गरेको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका भन्सार अधिकृतहरु श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाल पक्राउ परेको स्रोतले जानकारी दिएको छ ।

दुबईबाट ल्याइएको ३४ किलो अवैध सुन त्रिभुवन बिमानस्थलको भन्सारबाट पास भएको थियो । सो सुनसहित तीन जना भरियालाई सीआईबीको टोलीले गत बिहीबार पक्राउ गरेको थियो । 

सुनको असली मालिकको खोजीलाई तिव्रता दिइरहेको सीआईबीले बिहीबार दुई जना भन्सार अधिकृतहरुलाई उनीहरुकै घरबाट पक्राउ गरेको हो ।

सीआईबी स्रोतका अनुसार अधिकृतद्वय यादव र ढकाल सुन तस्करीको सम्पर्कमा रहेकाले अनुसन्धानका लागि पक्राउ गरिएको हो । यसअघि भन्सार बिभागले २९ कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएर छुट्टै अनुसन्धान सुरु गरेको थियो ।

सुन तस्करीको अनुसन्धानमा खटिएको एसपी मिरा चौधरी सहितको टोली एक सातादेखि निजी सम्पर्क नम्बर समेत बन्द गरेर सुन तस्करमा संलग्नहरुको खोजीमा सक्रिय भैरहेको छ ।

सुनको मालिक पक्राउ गर्ने दबावमा परेको सीआईबीले यसमा साथ दिने कर्मचारीलाई समेत कार्वाहीको दायरमा ल्याउने बताइरहेको छ ।

यसअघि मंगलबार रातीको कार्वाहीमा भरियाको रुपमा प्रयोग भएका २ जनालाई काभ्रेबाट नियन्त्रणमा लिइएको थियो । उनीहरुकै बयानका आधारमा भन्सारका कर्मचारीहरु पक्राउ परेको स्रोतको दावी छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...