पाउरोटी खाने झोले टुरिष्ट बढे !

- काठमाडौं, १० माघ ।
संख्यात्मक रुपमा तुलना गर्दा पर्यटकहरु अहिले भूकम्प जानुपूर्वकै हाराहारीमा नेपालमा भित्रिएको देखिन्छ । पर्यटकको संख्या बढे पनि ठूला होटलको अकुपेन्सी भने सन् २०१४ को तुलनामा अत्यन्तै न्यून छ ।
भूकम्पअघि सन् २०१४ मा पर्यटक आउने सिजनमा अकुपेन्सी ९५ प्रतिशतसम्म पुगेको थियो । सन् २०१६ मा भने होटलको अकुपेन्सी ६० प्रतिशतभन्दा माथि जान नसकेको होटल व्यवसायी महासंघ (हान) का अध्यक्ष अमरमान शाक्य बताउँछन् ।
सरकारी अधिकारीहरु भने पर्यटन क्षेत्र भूकम्पअघिकै अवस्थामा फर्किसकेको दावी गर्छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१६ मा भूकम्प अघि सन् २०१४ कै हाराहारीमा पर्यटक नेपाल भित्रिएका छन् ।
संख्यात्मक रुपमा हेर्दा पर्यटन क्षेत्रको अवस्था पुरानै अवस्थामा र्फकेको छ । किनकि २०१४ मा ७ लाख ९० हजार पर्यटक नेपाल भित्रिएका थिए भने गत वर्ष पनि यसकै हाराहारीमा ७ लाख २९ हजार पर्यटक भित्रिएका छन् ।
पर्यटकको संख्या बढ्यो, तर होटलको अकुपेन्सीमा भने सुधार भएन । किन होला ? गुणस्तरीय पर्यटकहरु भन्दा पनि कम खर्च गर्ने पर्यटक आएका कारण होटलको अकुपेन्सी बढ्न नसकेको हानका अध्यक्ष शाक्यले जानकारी दिए ।
शाक्यका अनुसार अहिले गुणस्तरीय पर्यटकहरु भन्दा पनि कम खर्च गर्न खोज्ने पर्यटक आएका छन् । यस्ता पर्यटकहरु विभिन्न वेबसाइटको सहायतामा होमस्टे पुग्ने गर्दछन् ।
टानका महासचिव कर्ण लामा भन्छन्- सरकारी आँकडामा ट्रेकिङमा जाने पर्यटकको संख्या बढेको देखिएको छ, तर ट्रेकिङ गाइड नलगी एक्लै पाउरोटी चपाउँदै ट्रेकिङमा जाने यस्ता पर्यटक बढेर राष्ट्रलाई के फाइदा ?’
पर्यटन बोर्डका अनुसार भूकम्प पश्चात ट्रेकिङमा जाने पर्यटक बढेका छन् । भूकम्पले देशका सम्पदा नासिएका छन् । जसका कारण टुर गर्ने पर्यटकका लागि गन्तब्य खुम्चिएका छन् । तर, ट्रेकिङ रुटमा पर्ने होटलहरु भूकम्पका कारण खासै क्षति भएका थिएनन् । साथै क्षति भएका होटलहरु पनि मर्मत भइसकेका छन् ।
पर्यटकको संख्या उच्च भएसँगै ट्रेकिङमा जाने पर्यटकको संख्या पनि उच्च मात्रामा बढेको छ । तर, ट्रेकिङ व्यवसायीहरु पर्यटक बढे पनि आफ्नो व्यवसाय खासै सुधार नभएको बताउँछन् ।
प्रतिकृया दिनुहोस्
Loading...