एक हप्तापछि संसद बैठक बस्दै

  • काठमाडौं, ७ माघ ।

व्यवस्थापिका संसदको बैठक शुक्रबार बस्दैछ । एक हप्तापछि बस्न लागेको बैठकमा निर्वाचन र संविधान संशोधनसम्बन्धी विधेयकमा छलफल हुने अपेक्षा गरिएपनि नहुने भएको छ ।

बोनस पाँचौं संशोधन विधेयक प्रस्तुत र विकास समितिको अनुगमन एवं मूल्यांकन प्रतिवेदन मात्रै कार्यसूचिमा राखिने संसद सचिवालयले जनाएको छ ।

संविधान संशोधनको विषयमा दलहरुबिच सहमति जुटोस् भनेरै संसद बैठक एक हप्तासम्मको लागि स्थगित गरिएको थियो । तर यसबिचमा दलहरुको छलफल नै हुन सकेन । सत्तारुढ दल पहिले संशोधन विधेयक अगाडि बढाउनुपर्ने पक्षमा छन् भने विपक्षी दलले निर्वाचनसम्बन्धी विधेयकलाई जोड दिएका छन् ।

सत्तारुढ दल संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुर्‍याउने रणनीतिमा छन् । साना दललाई फकाउने प्रयास स्वरुप प्रधानमन्त्रीले बिहीबार मात्रै संसदमा एकएक सिट भएका प्रेमबहादुर सिंह र कुमार खड्कालाई सरकारमा सहभागी गराएका छन् ।

राप्रपा र फोरम लोकतान्त्रिकलाई पनि सरकारमा ल्याएर विधेयकको पक्षमा उभ्याउने प्रधानमन्त्रीले प्रयास गरिरहेका छन् । विपक्षी दल पनि आफ्नो पक्षमा रहेको मत जोगाउन लागेका छन् । संशोधनको विपक्षमा रहेका एमाले सहितका नौ दलसँग २०१ सांसद छन् ।

दलहरु संशोधन विधेयक पास र फेल गराउने रणनीतिमा लागेकाले निर्वाचनसँग सम्बन्धित विधेयक प्राथमिकतामा नपरेको हो । संघीय संसदको निर्वाचनदेखि स्थानीय तहको निर्वाचनसम्बन्धी कानुन संसदीय समिति गएर थन्किएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...