उपेन्द्र र राजकिशोर यादव आयोगको ‘ब्ल्याक लिस्ट’मा निर्वाचनमा भाग लिन नपाउने !

  • काठमाडौं, ५ माघ । 
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र राजकिशोर यादवको मधेस जनअधिकार फोरम (गणतान्त्रिक) पार्टीमाथि कारवाही हुने भएको छ ।

नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएको फोरमले आर्थिक वर्ष २०७२–७३ को वार्षिक आयव्यय विवरण नबुझाएपछि निर्वाचन आयोगले कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

समाजवादी फोरम, फोरम गणतान्त्रिकसहित संसदभित्रका पाँच दलले गएको आर्थिक वर्षको आयव्यव विवरण नबुझाएपछि कारबाही गरिने भएको हो ।

आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले अनुसार आर्थिक बर्ष ६ महिनाभित्र वार्षिक आयव्यय विवरण कानुनी प्रावधानअनुसार पुस मसान्तसम्म बुझाइसक्नुपर्ने हो । 

उनका अनुसार संसदमा प्रतिनिधित्व गर्ने ३० दलमध्ये २४ दलले मात्र वार्षिक आयव्यय बुझाएका छन् । आयव्यय विवरण नबुझाउने दलमाथि निर्बाचन आयोगले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने ३० दलमध्ये प्रेमबहादुर सिंह अध्यक्ष रहेको समाजवादी जनता पार्टी यसभन्दा अगाडि नै खारेज भएको थियो भने चालु आवमा पाँच दलले आयव्यय विवरण बुझाएका छैनन् ।

आयव्यय नबुझाउने पार्टीमा संघीय समाजवादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), मधेस जनअधिकार फोरम (गणतान्त्रिक), दलित जनजाति पार्टी नेपाल र नेपाली जनता दल रहेका छन् ।

सूचना अधिकारी अर्यालका अनुसार आयोगले तोकेको समयमा पनि वार्षिक आयव्यय नबुझाउने दललाई कारवाहीस्वरुप जरिवाना गरिन्छ ।

‘तोकिएको समयमा वार्षिक आयव्यय नबुझाउने दललाई रु १०० जरिवाना र निर्वाचनको बेला निर्वाचनमा भाग लिन नपाउने व्यवस्था छ,’ उनले भने– ‘अटेरी गर्ने दललाई दुबै सजाय हुनसक्छ ।’

, , ,

प्रतिकृया दिनुहोस्

Loading...