पैसा तिर्दा पनि बकलौरीवासी खानेपानीबाट वञ्चित

  • इटहरी, २ माघ ।

सुनसरीका बकलौरीवासीका लागि स्वच्छ पानी आपूर्ति गरी दिने भनेर १० वर्षदेखि सामुदायिक सहयोग सङ्गठन कोसानले त्यस गाविसको झन्डै २० हजार मानिसलाई लक्षित गरेर पाँचवटा खानेपानी योजना अघि सारेको थियो । 

सरदर रु ६० लाखका ती खानेपानी योजनामध्ये तीनवटा योजना सफल भएर केही मानिसले स्वच्छ खानेपानी प्राप्त गर्न थालेका छन् । तर बकलौरी गाविसका मूल बजार क्षेत्रका बासिन्दा भने स्वच्छ पिउने पानी उपभोग गर्नबाट वञ्चित भएका छन् । उनीहरुले अहिले पनि चापाकलबाट पानी तानेर नै प्रयोग गर्नु परिरहेको पाइएको छ । 

खानेपानीका लागि अग्रिम पैसा बुझाएर पनि पानी उपलब्ध हुन नसकेपछि लक्ष्मी भट्टराईले योजना नै असफल भएको गुनासो गर्दै पैसा फिर्ता माग्दा पनि दिँदैनन् र योजना छिटो सफल पार्न आग्रह गर्दा आलटाल गरिँदै आएको गुनासो गरे ।

बकलौरी क्षेत्रका समस्या विषयमा खरो उत्रँदै आएका पुष्प प्याकुरेलले भने 'कि आयोजना सफल पारेर बकलौरीवासीलाई पानी खुवाउनु प¥यो होइन भने यो योजनाविरुद्ध हामी बकलौरीवासी पैसा फिर्ता गराउनका लागि कडा आन्दोलनमा उत्रने तयारीमा लागेका छौ ।' 

योजनाले व्यक्तिगत धारा राख्नका लागि प्रतिघर रु १५ हजार अग्रिम उठाएको थियो । त्यसैगरी सामूहिक धारा राख्ने योजनाअनुसार सातदेखि १० वटा घर मिलेर प्रतिपरिवार रु एक हजार ५००का दरले पनि योजनाले पैसा उठाएको थियो । तर योजना नै असफल भएपछि बकलौरीको मुख्य बजार, सरकारी कार्यालयहरु रहेको तथा विद्यालय भएका क्षेत्रका बासिन्दाले भने अहिले तत्काल पानी प्राप्त गर्न सक्ने अवस्था नरहेको पाइएको छ ।

खानेपानी टङ्की निर्माण भएको नजिकै घर भएकी गया चौधरीलेभने – “म त त्यो टङ्कीको कालो लेदो आउने पानी मरे काटे पनि खान्न भनेर चापाकलकै पानी चलाउँदै आएको छु” । 

गयाको नजिकै घर बनाएर बस्दै आएकी विद्या बस्नेतले घरमा खानेपानी आउने आशले आजभन्दा पाँच वर्षअघि नै रु १३ हजार ५०० खानेपानीका लागि रकम बुझाए । 

घरैमा पानी आउला भनेर धारा पनि बनाए । योजनाको पानी आई त हाल्छ भनेर चापाकल पनि नगाडेकाले अहिले पैनीको पानीमा भाँडाबर्तन, कपडा धुने र अर्काका कलमा पानी ल्याउनु पर्ने समस्यामा परेको गुनासो गरिन । 

बकलौरीवासीलाई पानी आपूर्तिका लागि बनेका पाँचवटा समितिमध्ये आदर्श खानेपानी योजनाका अध्यक्ष क्यामकुमार श्रेष्ठले पहिला पानीको स्रोत भेटिएको र अहिले पानी वितरणको अन्तिम काम गर्ने क्रममा पानीको स्रोत अन्यत्र नै सरेर गएको तथा लेदो र कालो पानी निक्लेकाले त्यसको विकल्पको खोजी कार्य भइरहेको बताए । 

स्थानीयवासीले पैसा लगानी गरेर पनि पानी पिउन नपाउनु भनेको उनीहरुमाथि अन्याय नै भएको भन्न सकिने अवस्था रहेको पाइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...