सात प्रदेशका उच्च अदालतका ८२ न्यायाधीश नियुक्तिको भागबण्डा आज

  • काठमाडौं, २६ पुस ।

सात प्रदेशका उच्च अदालतहरुका लागि ८२ जना न्यायाधीशको नियुक्ति मंगलबारै टुंगो लाग्ने सम्भावना रहेको न्याय परिषद स्रोतले जनाएको छ ।

न्यायाधीशको नाम टुंगो लगाउन केही दिनदेखि न्याय परिषदको बैठक निरन्तर बसिरहे पनि कुरा मिलिसकेको छैन ।

न्याय परिषद अध्यक्ष समेत रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीले चाँडो टुंगो लगाउन चाहेको स्रोतले जनाएको छ । परिषद सदस्य रहेका बरिष्ठतम न्यायाधीश बैद्यनाथ उपाध्पाय उमेर हदका कारण पुस मसान्तमा अवकाश हुँदैछन् । उपाध्यायको बहिर्गमन अगावै न्यायाधीश नियुक्ति टुङ्याउने तयारी न्याय परिषदले गरेको छ ।

उपाध्यायपछि बरिष्ठताका आधारमा गोपालप्रसाद पराजुली न्याय परिषद सदस्य हुनेछन् । कार्की र पराजुलीबीच सुमधुर सम्बन्ध नरहेका कारण पराजुली आउनुअघि नै न्यायाधीसको टुंगो लगाउन खोजिएको स्रोतले जनाएको छ । पराजुली उमेर विवादमा फसेका न्यायाधीश हुन् ।

न्याय परिषद स्रोतका अनुसार परिषद अध्यक्षसहित ५ जना सदस्यलाई ६/६ जना न्यायाधीश नियुक्तिको कोटा छुट्याइएको छ । यस हिसाबले ३० जना न्यायाधीश न्याय सेवा बाहिर अर्थात कानुन व्यवसायीहरुबाट आउनेछन् ।

बाँकी ५२ जना न्यायाधीश भने सर्बोच्च अदालतका रजिष्ट्रार, सह रजिष्टार, महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालयका सचिव, सहसचिवहरुको कोटा मध्येबाट चयन हुनेछन् ।

न्याय परिषदमा हाल प्रधानन्यायाधीश कार्की र बरिष्ठ न्यायाधीश बैद्यनाथ उपाध्याय बाहेक अन्य तीनजना राजनीतिक पार्टीका व्यक्ति छन् ।

कानुनमन्त्री अजयशंकर नायक र सदस्य पदमप्रसाद वैदिक माओवादीका हुन् भने रामप्रसाद सिटौला कांग्रेसका हुन् । यसपटकको न्यायाधीश भागबण्डामा एमाले न्यायपरिषदमा भूमिकाविहीन अवस्थामा छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...