ताञ्जनियाबाट पाँच नेपाली कामदारको उद्दार

  • दार ए सलाम, ५ माघ ।
बिगत एक वर्षदेखि तलब रोकेर फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आवासीय नेपाली संघ ताञ्जनियाले उद्दार समन्वय गरी फिर्ता पठाएको छ ।

ताञ्जनियाको दार ए सलामदेखि ५०० किलोमिटर टाढा जङ्गल क्षेत्रमा रहेको खनिजसम्बन्धि उद्योग कङारू मिनरल्समा भारतको मुम्बई हुँदै दुई वर्षअघि रोजगारीका लागि आएर अलपत्र परेका पाँच जनालाई उद्धार गरिएको हो । उद्धार गरिएकामा नृपबहादुर टमट्टा, जगतबहादुर कुँवर र अमरराज सार्की (अछाम) र लोगे टमट्टा र भुवन कुवर (कैलाली) रहेका छन् ।

पाँच नेपालीहरूले दुःख पाएको जानकारी पाएपछि एक महिनाअघि एनआरएनएले उद्धारमा पहल थालेको थियो ।

कम्पनीले टिकट र कम्पनी चलेको बेलाको तलब सुबिधा र पासपोर्ट तत्काल फिर्ता दिने र बाँकी रकम कम्पनीको मुम्बईस्थित कार्यालयमा कुरा गर्ने पीडितहरूको सहमतिमा उनीहरूलाई दार ए सलाम ल्याई मुम्बै फिर्ता पठाइएको छ । संघका तान्जानिया अध्यक्ष रोशन थापाले पाँच नेपाली युवाहरूले लामो समयदेखि तलव नपाएको बताए ।

संघका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले संघको तान्जानिया समितिले कुशलता पूर्बक उद्दारको संयोजन गरी बिपतमा परेका नेपालीको सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

नेपालीहरूको उद्दारमा प्रीटोरियास्थित नेपाल राजदूतावास, राजदूत अमृतबहादुर राई र संघका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले पनि सहयोग गरेका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...