चीनमा शौचालय विस्फोट, १ को मृत्यु, ७ घाइते


उत्तरी चीनको शान्जी प्रान्तमा एउटा सार्वजनिक शौचालय पड्किँदा एकको मृत्यु र सातजना घाइते भएका छन्। शौचालयको ढलट्यांकीमा थुप्रिएको मलमूत्रबाट कडा ग्यास उत्सर्जन भई विस्फोट भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

हेसान जिल्लाको युलिन सहरमा गत शनिवार यो विस्फोट भएको थियो। घटनाको अनुसन्धान प्रतिवेदन भने मंगलबार मात्र सार्वजनिक भएको हो। 

प्रारम्भिक अनुसन्धानमा सहभागीहरुका अनुसार, शौचालयको ढल ट्यांकीमा थुप्रिएका मलमूत्र र अन्य विभिन्न जैविक, अजैविक पदार्थवीच रासायनिक प्रतिक्रिया भई कडा ग्यास निस्किएको हो। यसमा मिथेन, एमोनिया र हाइड्रोजन सल्फाइडजस्ता ग्यास उत्सर्जन भई रासायनिक प्रतिक्रिया भएको बताइएको छ।

बढ्दो जनघनत्वको कारण अहिले चीनमा सार्वजनिक शौचालयको समस्या पनि बढ्दो छ। खासगरी, मध्यपश्चिमी चीनमा सार्वजनिक शौचालयमा पर्याप्त पानी नहालिंदा ढलजन्य वस्तु राम्ररी ‘डिकम्पोज’ नहुने समस्या रहेको बताइएको छ। 

स्थानीय सरकारी निकायले अब शौचालयको स्तरीकरणमा विभिन्न योजना थाल्ने भएका छन्। शौचालय क्रान्ति र सरसफाइ नाम दिई सभ्यता विकासको कार्यक्रम लागू गरिने स्थानीय अधिकारीहरुले जनाएका छन्। 

आर्थिक र सामाजिक क्रान्तिसँगै शौचालयजस्तो आधारभूत सभ्यताको लागि पनि ध्यान दिन थालिएको उनीहरुको भनाइ छ। चाइना डेलीबाट

,

प्रतिकृया दिनुहोस्

Loading...