रोनाल्डोले उचाले विश्वकै उत्कृष्ट खेलाडीको अवार्ड (फोटो फिचर)

  • एजेन्सी, २६ पुस ।

क्रिष्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्डमा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

गएको महिना फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गरेको बालोन डी’ओर अवार्ड जितेका रोनाल्डोले अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र फ्रान्स तथा एथ्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै फिफा वर्ष खेलाडी बनेका हुन् । ज्युरिचमा भएको कार्यक्रममा रोनाल्डोले अवार्ड उचाले ।

गएको वर्ष पोर्चुगललाई युरोकप २०१६ तथा रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन रोनाल्डोले महत्वपूर्ण भूमिका खेलेका थिए । फिफाले यो वर्ष राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो । रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाएको फिफाले जनाएको छ ।

दोस्रो स्थानमा रहेका मेस्सीले २६ दशमलव ४२ तथा तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाए । यस्तै अमेरिकाकी कार्ली लोइड वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । गएको ६ सिजन विश्व फुटबलको प्रशासकीय निकाय फिफा र फ्रान्सेली फुटबल म्यागजिनको सहकार्यमा फिफा बालोन डी’ओर प्रदान गरिँदै आएको थियो । तर गएको सेप्टेम्बरमा फिफाले म्यागजिनसँगको सहकार्य तोडेपछि फिफा र म्यागजिनले छुट्टाछुट्टै अवार्ड प्रदान गरेका हुन् ।

दुवै अवार्ड रोनाल्डोले जिते । अवार्ड जितेपछि रोनाल्डोले भने ‘यो वर्ष मेरो अहिलेसम्मकै उत्कृष्ट रह्यो । पोर्चुगलका लागि जितेको ट्रफी निकै उत्कृष्ट रह्यो । म खुशी छु र च्याम्पियन्स लिगको ट्रफी पनि म बिर्सन सक्दिन । समूहगत तथा व्यक्तिगत रुपमा अवार्ड जित्न पाउँदा म निकै खशी छु ।’




, ,

प्रतिकृया दिनुहोस्

Loading...