एक दिवसीय श्रृँखला कोहलीको कप्तानीमा

  • एजेन्सी, २ माघ ।

विराट कोहलीको कप्तानीमा जितको यात्रा गर्दै आएको भारतीय टिम उनैको कप्तानीमा एक दिवसीय श्रृँखला खेल्ने तयारीमा छ ।

आइतबारदेखि सुरु हुने इंग्ल्याण्डसँगको एक दिवसीय श्रृँखलामा कोहलीले टिमको कप्तानी गर्ने छ । सन् २०१४ देखि टेस्ट क्रिकेटको कप्तान बनेका कोहली पहिलो पटक सीमित ओभरको कप्तान बनेका हुन् । भारत र इंग्ल्याण्डबिचको तीन एक दिवसीय श्रृँखलाको पहिलो खेल आइतबार दिउँसो पुणेमा हुनेछ ।

महेन्द्र सिंह धोनीले टेस्टपछि एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तानबाट राजीनामा दिएपछि अब विराट युगको सुरुवात भएको मानिएको छ । यसअघि भारतले टेस्ट श्रृँखलमा इंग्ल्याण्डलाई ४–० ले हराएको थियो ।

इंग्ल्याण्ड एक दिवसीय श्रृँखलामा इयान मोर्गनको कप्तानीमा खेल्नेछ । इंग्ल्याण्डको टिममा एलेक्स हेल्स, जेसन रोय, जो रुट, जोस बटलर, बेन स्टोक्स, मोइन अली, क्रिस वोक्स, डेविड विली, अदिल रशिद र लियाम डान्सन छन् ।

कोहलीको कप्तानीमा रहेको भारतीय टिममा महेन्द्र सिंह धोनी, अजिन्क्या रहाने, शिखर धवन, केएल राहुल, युवराज सिंह, केदार जाधव, सुरेश रैना, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, उमेश यादव, जसप्रीत बुमराह, अमित मिश्रा र हार्दिक पाण्डेय छन् ।

तर अन्तिम ११ मा कोको पर्नेछन्, त्यो भने हेर्न बाँकी छ । भारत र इंग्ल्याण्डबिच अहिलेसम्म ९३ एक दिवसीय खेल भएका छन् । यसमा भारत अघि छ । भारत ५० खेलमा विजयी भएको छ भने ३८ खेलमा इंग्ल्याण्डले जितेको छ । दुई खेल बराबरी भएको थियो भने तीन वटा खेल नतिजा बिना नै सकिएको छ ।

खेल पहिले भएको पत्रकार सम्मेलनमा कोहलीले मैदानमा टसका लागि जाँदा कप्तान बन्नु बाहेक अरु केही फरक नहुने बताएका छन् । भारत र इंग्ल्याण्डबिच दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेट पनि हुनेछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...