आहा रारा गोल्डकप : उद्घाटन खेलमा आयोजक सहारा बिजयी

  • पोखरा ४ माघ ।
आजदेखि पोखरामा सुरु १५ औँ आहा रारा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गतको आजको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले सुदूरपश्चिम ११ स्पोटिङ क्लब, धनगढीलाई ४–० गोलको अन्तरले पराजित गरेको छ ।

प्रतियोगिताको पहिलो हाफमै सहारा क्लबका मार्टिनले खेल सुरु भएको ६ मिनेटमा नै गोल गरेका थिए ।

खेलको २७ औँ मिनेटमा रिचार्ड पुनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यस्तै पहिलो हाफकै ३८ औँ मिनेटमा पेटर सेगुनले गोल गर्दै अग्रता तेब्बर बनाए ।

पहिलो हाफमा तीन गोलले अघि बढेको सहाराले ८२ औँ मिनेटमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गरी टीमको जित सुनिश्चित गरे ।

प्रतियोगितामा पराजित बनेसँगै सुदुरपश्चिम ११ जारी १५ औँ आहा रारा गोल्ड कप प्रतियोगिताबाटै बाहिरिएको छ भने आज विजयी सहारा क्लबको टिमले आगामी माघ ८ गते सिक्किम युनाइटेड फुटवल क्लब, भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

आगामी माघ १५ गतेसम्म पोखरा रङ्गशालामा हुने गोल्ड कप फुटबल प्रतियोगितामा विदेशी राष्ट्रबाट अमेरिकाको अना युएसए फुटबल टिम, बङ्लादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबसहित १२ टिमले भाग लिएका छन् ।

प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख एक हजार एक र उपविजेताले रु दुई लाख ५१ हजार एकसहित सिल्ड, पदक र प्रमाणपत्र पाउने क्लबका महासचिव केशवराज बरालले जानकारी दिए ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नेपाल जनरल मार्केटिङ प्रालिद्वारा प्रायोजित एक थान ड्यास हिरो स्कुटर, प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकमध्ये एक जनालाई गोलाप्रथाद्वारा एक तोला सुनको सिक्का र एलजी टेलिभिजन प्रदान गरिने क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए ।

यस्तै बेस्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रु एक लाख बराबरको रारा तथा अन्य विभिन्न चाउचाउ पनि टिकटका दर्शकलाई वितरण गरिने जनाइएको छ ।

प्रतियोगिताको एक समारोहकाबीच आज उद्घाटन गर्दै मुख्य सचिव डा सोमलाल सुवेदीले पर्यटकीय नगरी पोखरामा खेलकुद पर्यटनको विकासको पनि सम्भावना भएको बताए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...