रेडियो नेपालको कार्यकारी निर्देशकमा पुनः कार्की



काठमाडौं, ६ माघ ।

सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेश कुमार कार्कीलाई नियुक्त गरेको छ ।

कार्की यसअघि पनि रेडियो नेपालको कार्यकारी निर्देशक थिए । उनको कार्यकाल मंसिर महिनामा सकिएको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई पुनः चार वर्षे कार्यकालका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।

यसैगरी हत्या गरिएका काभ्रेका अजित मिजार र लक्ष्मी परियारका परिवारलाई के कस्तो सहयोग गर्न सकिन्छ भनेर सरकारलाई सुझाव दिन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीको नेतृत्वमा समिति पनि गठन गरिएको छ ।

अन्तरजातीय विवाह गरेका अजितको शव धादिङमा फेला परेको थियो भने लक्ष्मी परियारको बोक्सी आरोपमा कुटपीट पछि मृत्यु भएको थियो ।

यसैगरी विश्व बैंकले दिने १६ अर्ब ३८ करोड रुपैयाँ ऋण सहायता स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । सो रकम जन्म दर्ता, मृत्यु दर्ता लगायतका सामाजिक तथा व्यक्तिगत घटना दर्ता प्रक्रियालाई अझै समृद्ध पार्न विश्व बैंकले दिएको हो ।

मन्त्रिपरिषद बैठकले किसान आयोग गठन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...