६ महिनामा २० हजार बढी सवारी साधन ट्राफिकको फन्दामा

  • पर्सा, माघ १६ । 

सवारी ऐन उल्लंघन गर्नेलाई भएको कारबाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा रु एक करोड ३० लाख १७ हजार राजस्व संकलन गरेको छ ।

आव २०७३/७४ को साउनदेखि पुससम्मको छ महिनाको अवधिमा कार्यालयले २० हजार ६ सय ५० सवारीसाधान सञ्चालकलाई गरेको कारवाहीमा सो रकम संकलन भएको प्रमुख ट्राफिक प्रहरी निरीक्षक रवीन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनले चालु आवमा सबैभन्दा बढी ट्रकचालक कारवाहीको दायरामा आएको बताए । ट्रकचालकले वाहन चलाउँदा आवश्यक कागजपत्र नबोकेको, तोकिएको भन्दा बढी सवारी वा मालवस्तु राखिएकोे, तोकिएको भन्दा बढी गतिमा सवारीसाधन चलाएको जस्ता गल्ती भेटिएपछि ट्राफिक ऐनबमोजिम कारवाही गरिएको निरीक्षक भट्टले जानकारी दिए ।

चालु आवको ६ महिनामा ऐन उल्लंघन गरेका ११ हजार ८०४ ट्रक, ८ सय बस, ७३५ जिप/कार/भ्यान, एक हजार २४६ ट्याक्टर, चार हजार ७८८ मोटरसाइकल र एक हजार २७७ टेम्पो चालकलाई पनि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

यसैबीच मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने ८३९ चालकलाई कारवाही गरिएको छ । चालु आवको ६ महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको छड्के जाँचमा मादकपदार्थ सेवन गरेका उक्त सङ्ख्याका सवारीचालक कारवाहीमा परेको निरीक्षक भट्टले बताए । 

मदिरा सेवन गरी वाहन चलाउने चालकलाई कारवाही गर्दा छ महिनामा रु आठ लाख ३९ हजार राजस्व संकलन भएको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...