रेक्स टिल्लर्सन अमेरिकी विदेश मन्त्री बन्ने पक्का
- एजेन्सी, २० माघ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारमा रेक्स टिल्लर्सन विदेश मन्त्री बन्ने पक्का भएको छ । टेक्सासका ६४ वर्षका टिल्लर्सनलाई सिनेटको पूर्ण बैठकले विदेश मन्त्रीका लागि स्वीकृत गरेको हो ।
टिल्लर्सनको पक्षमा ५६ तथा विपक्षमा ४३ मत परेको थियो । राष्ट्रपति ट्रम्पले प्रस्ताव गर्नुभएका टिल्लर्सन एक्सन मोबिलका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।
डेमोक्र्याटिक पार्टीका सिनेटरले ट्रम्पले शिक्षा तथा वित्त मन्त्रीका लागि प्रस्ताव गरेकाको अनुमोदनका लागि तय भएको मतदान प्रक्रिया बहिष्कार गरेपछि विदेश मन्त्रीका लागि प्रस्तावित टिल्लर्सनको प्रक्रिया अघि बढाइएको हो ।
टिल्लर्सनको रुससँग नजिकको सम्बन्ध रहेको भन्दै संसदीय सुनुवाईको क्रममा उनले निकै कठिन प्रश्नको सामना गर्नु परेको थियो । रुससँग टिल्लर्सनको व्यवसायिक सम्बन्ध रहेको र यसले देशको सुरक्षामा खतरा पनि हुन सक्ने भन्दा डेमोक्र्याटिकसहित केही रिपब्लिकन सिनेटर पनि चिन्ता जनाएका छन् ।
सुनुवाईको क्रममा टिल्लर्सनले रुससँग सचेत भएर सम्बन्ध राख्नु पर्ने स्वीकार गरेपनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियासहितका देशमा युद्ध अपराध गरेको कुरा भने स्वीकार गरेका थिएनन् ।
अमेरिकाको प्रमुख कुटनीतिज्ञका रुपमा टिल्लर्सनले अब रुस, चीनसहित विश्वका सबै देशसँगको अमेरिकी सम्बन्धका विषय सम्हाल्नु हुनेछ ।
यसअघि कुनै पनि राजनीतिक अनुभव नभएका टिल्लर्सनले जिम्मेवारी राम्रोसँग सम्हाल्नेमा शंका रहेको डेमोक्र्याटिकको आरोप छ ।
प्रतिकृया दिनुहोस्
Loading...