सिरियामा ५ वर्षमा १३ हजारभन्दा धेरैलाई मृत्युदण्ड
- काठमाडौं, २६ माघ ।
एम्नेष्टीको नयाँ प्रतिवेदन अनुसार सिरियाको सयद्नाया जेलमा सन् २०११ देखि २०१५ को बिचमा हरेक हप्ता सामूहिक रुपमा फाँसी दिने गरिएको थियो । मृत्युदण्डको सजाय दिइएकामा धेरै विपक्षी पार्टीका समर्थक तथा सर्वसाधारण रहेको पनि एम्नेष्टीले दावी गरेको छ ।
एम्नेष्टीले जेलका सुरक्षाकर्मी, कैदी तथा न्यायाधीश गरी ८४ जना प्रत्यक्षदर्शीसँगको अन्तर्वार्ताको आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ । कम्तिमा हप्तामा एक पटक ५० जना कैदीलाई जेलबाट निकाल्ने र उनीहरुलाई चरम यातना दिएपछि झुण्ड्याउने गरिएको प्रतिवेदनमा उल्लेख छ ।
जेलबाट निकालिएदेखि झुण्ड्याउने क्रमसम्म उनीहरुको आँखामा पट्टी बाँधिएको हुन्थ्यो, उनीहरुको घाँटीमा डोरी नपुगेसम्म कुनबेला र कसरी हत्या गरिन्छ भन्ने थाहा हुँदैनथ्यो प्रतिवेदनमा भनिएको छ ।
कैदीबन्दीलाई मृत्युदण्ड दिनुअघि कुनै अपराधमा संलग्न भए नभएको बारे सोधिने तर संलग्नता भएपनि नभएपनि उसलाई फाँसी दिने गरिएको एक पूर्व सैन्य न्यायाधीशलाई उद्धृत गर्दै एम्नेष्टीले प्रतिवेदनमा उल्लेख गरेको छ । बन्दिगृहमा राखिएका कैदीहरुलाई बलात्कार गर्नुका साथै एकअर्कालाई बलात्कार गर्न दबाबसमेत दिने गरिएको थियो ।
यस्तो क्रम अहिलेपनि जारी रहेको हुनसक्ने एम्नेष्टीले जनाएको छ । सिरिया सरकारले भने यसअघि मृत्युदण्ड दिएको अस्वीकार गर्दै आएको थियो । संयुक्त राष्ट्रसंघले पनि यसअघि सिरियाका जेलमा कैदीलाई यातना दिने र सामूहिक हत्यासमेत गर्ने गरिएको बताएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...