कोशीटप्पुका अर्ना ट्रक चढेर चिडियाखाना आए

  • काठमाडौं,२३ माघ ।
कोशीटप्पुमा जन्मिएर त्यहीँ हुर्कंदै आएको एउटा भाले अर्ना चिडियाखाना आइपुगेको छ । आइतबार ठूलो ट्रकभित्र राखेर अर्नालाई चिडियाखाना ल्याइएको हो ।

ट्रकमा राख्नुअघि अर्नालाई बेहोस पारिएको थियो । बेहोस भएको अर्नालाई क्रेनको सहायताले ठूलो खोरभित्र थुनेर ट्रकमा राखिएको हो । शनिबार बेहोस पारेर ट्रकमा राखिएको अर्ना चिडियाखाना आइपुग्दासम्म होसमा आइसकेको छ ।

त्यसलाई निकै होशियारीपूर्वक ट्रकबाट ओरालेर खोरमा राखिएको छ । कोशीटप्पुको अर्नालाई चितवन निकुञ्जमा सार्ने कार्यक्रम अनुसार एउटा अर्ना चिडियाखाना ल्याइएको हो । चिडियाखानामा रहेको अर्नालाई चाहिँ चितवन पठाउने तयारी छ ।

‘चिडियाखानामा रहेका अर्ना एउटै परिवारभित्रका भएकाले स्वस्थ बच्चा जन्माउने उदेश्य अनुसार अर्कै ठाउँको भाले अर्ना ल्याइएको हो’ चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाले भने । अहिले चिडियाखानामा रहेका ६ वटा अर्नामध्ये एउटा माउ र अरु उसका बच्चा हुन् । ५ वटा बच्चामध्ये एउटा मात्रै भाले छ ।

यही भालेलाई चितवन पठाएर अर्को भाले ल्याइएको हो । यस्तै कोशीटप्पुका २० वटा अर्ना चितवन सार्ने कार्यक्रम अनुसार अहिलेसम्म १० वटा स्थानन्तरण भैसकेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...