प्रचण्ड र केपीका विद्यार्थीबीच अस्कल कलेजमा कुटाकुट

  • काठमाडौं, २८ माघ ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति नजिकिंदै जाँदा क्याम्पसहरुमा विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद सुरु भएको छ ।

ठमेलस्थित अस्कल कलेजमा शुक्रबार विद्यार्थी भर्नाको विषयलाई लिएर अखिल क्रान्तिकारी र अखिलबीच कुटाकुट नै भएको छ ।

कलेजले विद्यार्थी भर्नाको मिति २७ गतेसम्म मात्रै तोकेकोमा क्याम्पस प्रमुख राजु महाजुले आफुखुशी एक दिन भर्ना मिति बढाएर बिहीबारसम्म पुर्‍याए पछि विवाद भएको हो ।

एमाले निकट अखिलले पूर्वसूचना विपरित क्याम्पस प्रमुखले आफु खुशी भर्ना मिति बढाएको भन्दै विरोध गरेका थिए । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले भने क्याम्पस प्रमुखको निर्णयलाई साथ दिएपछि दुई विद्यार्थी संगठनबीच झडप भएको छ ।

समय थप भएसँगै ८ जना विद्यार्थी भर्ना हुन आएका थिए । उनीहरु सबै क्रान्तिकारीको तर्फबाट आएका हुन् ।

क्याम्पस प्रमुख महाजुमाथि अखिलका विद्यार्थीहरुले हातपातको प्रयास गरेका छन् । हातपात गर्न खोज्ने विद्यार्थीलाई प्रहरीले तितरवितर पारेको छ भने सबै विद्यार्थी संगठनका प्रतिनिधि र क्याम्पस प्रमुखबीच वार्ता सुरु भएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...