बिम्स्टेकको तीन तहका बैठक भोलिदेखि

  • काठमाडौं, २२ माघ । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) बैठक भोलिदेखि हुँदैछ ।

बिम्स्टेकका अध्यक्ष नेपालले उक्त क्षेत्रीय सङ्गठनको सत्रौं संयुक्त कार्यदलको बैठक भोलि, २४ गते सत्रौँ उच्च पदाधिकारी तयारी बैठक र २५ गते सदस्य देशका विदेश मन्त्रालयका सचिवको सत्रौँ आयोजना गरेको हो ।

भोलि र पर्सि हुने संयुक्त कार्यदल र उच्च पदाधिकारी तयारी बैठकको नेतृत्व नेपाली प्रतिनिधिमण्डलका नेता तथा परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गर्ने छन् ।

माघ २५ गते हुने सदस्य मुलुकका परराष्ट्र-विदेश-बाह्य मामिला मन्त्रालयका सचिव सम्मिलित बैठकको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा बिमस्टेकले प्राथमिकता तोकेका सामाजिक–आर्थिक विकासका १४ क्षेत्रमा भएका प्रगतिको समीक्षा गरिने हुनेछ भने सचिवस्तरीय बैठकमा बिम्स्टेकको चौथो शिखर सम्मेलन यसै वर्ष नेपालमा आयोजना गर्नेबारेमा मितिसमेत निर्धारण हुनसक्ने सम्भावना छ ।

त्यसैगरी बैठकमा बिम्स्टेकको सचिवालयसँग सम्बन्धित वित्तीय तथा प्रशासनिक विषयका साथै बिम्स्टेक संयन्त्रले प्रस्तुत गरेका प्रतिवेदनको समीक्षा, कार्यान्वयनको स्थित र भावी कार्ययोजनाबारे छलफल हुने मन्त्रालयले जनाएको छ ।

भारतको गोवामा केहीसमय अघि बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष-सरकार प्रमुखहरूको बैठकले सन् २०१७ मा चौथो शिखर सम्मेलन नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो ।

बिम्स्टेक बैठकमा भाग लिन नेपाल, बङ्गलादेश, भारत, म्यान्मा, थाइल्याण्ड र श्रीलङ्काका उच्च अधिकारी राजधानी आइसकेको महाशाखा प्रमुख भट्टराईले बताए । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीले भाग लिने छन् । सदस्य मुलुकबाट १० जनाभन्दा बढी सहभागी हुनेछन् ।

बिमस्टेकले गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई प्राथमिकताका क्षेत्रमा राखेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...