राष्ट्रपतिको मृत्युको भविष्यवाणी गरेपछि ज्योतिष बिजिता रोहणा पक्राउ
- कोलम्बो, २० माघ ।
अधिकांश श्रीलङ्काली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, ब्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा अद्यापि ब्याप्त छ ।
हाल पक्राउ परेका ज्योतिष–विजिता रोहणा विजयेमुनि श्रीलङ्काली नौसेनाका पूर्व सैनिक हुन् । सन् १९८९ मा तत्कालिन भारतीय प्रधानमन्त्री राजीव गान्धि श्रीलङ्काको औपचारिक भ्रमणमा रहँदा उहाँलाई आक्रमण र हत्या गर्ने प्रयास गरेको आरोपमा यिनले जागीर गुमाउनुका साथै सजाय समेत भोग्नुपरेको थियो ।
तथाकथित ज्योतिष विजयेमुनिले राष्ट्रपति सिरिसेनालाई अकस्मात् कडा ज्वरोले पक्डने वा अकल्पनीय दुर्घटनामा पर्ने र २७ जनवरी अगावै उहाँको मृत्यु हुने भनी बकबास हल्ला फैलाई ज्योतिषी विद्याभिरु समाजलाई दिग्भ्रमित पार्ने प्रयास गरेकोले पक्रिई नियन्त्रणमा लिएको भन्ने श्रीलङ्काली प्रहरीको भनाइ छ ।
राष्ट्रपति सिरिसेनाको मृत्यु हुन्छ भन्ने भविष्यवाणी सहित विजयेमुनिले गत डिसेम्बरमा आफ्नो फेसबूक पेजमा थरी थरीका थुप्रै भिडियो क्लिप अपलोड गरेकाले आम जन मानसमा भविष्यवाणी सत्य पो हुने हो कि भन्ने भ्रम फैलन गएको थियो । सरकारमा रहेका उच्च अधिकारीहरु चाहिँ विजयेमुनिप्रति सशङ्कित रहेका थिए ।
यही क्रममा, विजयेमुनिले भित्रभित्रै कतै सैनिक बिद्रोह गराउने वा राष्ट्रपतिलाई अप्रत्याशित आक्रमण गर्ने षडयन्त्रको तानाबाना त बुनि रहेको छैन भन्ने आशङ्कामा सञ्चार मन्त्रालयका सचिव निमाल बोपेजले श्रीलङ्काका प्रहरी प्रमुखलाई गोप्यरुपमा अनुसन्धान गर्न र विजयेमुनिको भविष्यवाणीले उत्पन्न गराउन सक्ने सम्भाव्य परिणामउपर निगरानी राख्ने आदेश दिएका थिए । – एपी
प्रतिकृया दिनुहोस्
Loading...