कार्यालयमा हुने तनाव व्यवस्थापनको तरिका


आधुनिक जीवनशैली र व्यस्त समयका कारण मानिस नचाहेरै पनि तनावमा हुन्छन् । व्यक्तिको पेसाका कारण बैंकिङ, इन्स्योरेन्सजस्ता वित्तीय जिम्मेवारी लिएका कर्मचारीमा त्यस्तो तनाव अझ बढी हुने पाइएको छ । 

कामको दबाब, हाई टार्गेट, अधिक जिम्मेवारीजस्ता कारणले यस क्षेत्रका कर्मचारी बढी तनावमा हुन्छन् ।

तनाव हुनुको कारण

व्यक्तिअनुसार तनावको प्रकृति फरक हुने भए पनि त्यसलाई सधैँ नकारात्मक रूपमा मात्र लिनु हुँदैन । तनावलाई उपयोग गरेर सकरात्मक परिणाम ल्याउन पनि सक्छौँ । तर, तनावलाई हामीले जीवनशैली नै बनायौँ भने यसले हाम्रो दैनिक जीवनलाई नै असर पुर्‍याउँछ । 

तनावकै कारण कर्मचारीले आफ्नो जिम्मेवारी सही तरिकाले पूरा गर्न सक्तैनन् । तनावको अवस्थामा कामको दबाब झन बढ्ने तथा काम बिग्रन्छ कि भन्ने डर पनि धेरैमा हुने गर्छ । यसले तनावलाई झन बढाउन सहयोग गर्छ । 

विशेष गरेर कार्यालयमा तनाव हुने कारण यस्ता हुन्छन् :
  • पारिश्रमिक कम हुनु
  • अत्यधिक काम वा दबाबमा रहनु
  • पदोन्नति नहुनु
  • रुचिभन्दा फरक काममा संलग्न रहनु
  • कामको दीर्घकालीन सुरक्षा नहुनु
तनावले पार्ने असर

तनाव हेर्दा सामान्यजस्तो लागे तापनि यसको दीर्घकालीन परिणाम भने जटिल हुने गर्छ । वास्तवमा भन्ने हो भने तनावले शारीरिक, मानसिक र भावनात्मक रूपमा सम्पूर्ण कुरालाई नै असर पुर्‍याउँछ । 

दिनभर एउटै पोेजिसनमा बसेर काम गर्दा कम्मर दुख्ने, ढाँड दुख्नेजस्ता शारीरिक समस्या हुन्छन् । त्यस्तै, कम्प्युटरमा बढी बसेर काम गर्नेको आँखामा पनि समस्या हुने गर्छ ।

जब कुनै कारणले हामीलाई तनाव हुन्छ, तब सुरुमा हाम्रा मसल्समा असर देखिन थाल्छ । त्यसपछि उक्त तनाव शरीरका अन्य अंगमा पनि बिस्तारै फैलिएर जान थाल्छ । 

उदाहरणका लागि यदि कसैलाई दबाब हुनासाथ टाउको तथा घाँटी दुख्ने गर्छ भने उक्त क्षेत्रमा तनाव फैलिएको भन्ने बुझ्नुपर्छ ।

अनावश्यक तनावले श्वास प्रणालीलाई पनि असन्तुलन बनाउँछ । यसले हाम्रो श्वासको लयलाई नै परिवर्तन गरिदिन्छ । कसैकसैलाई तनावकै कारणले फोक्सोसम्बन्धी रोग पनि भएको पाइएको छ ।

तनावले मुटुको रोग हुने अत्यधिक सम्भावना हुने गर्छ । यसले मुटुमा रक्तचापको पनि असन्तुलन बढाउन सक्छ । धेरैलाई भने उच्च रक्तचाप हुने गदर्छ ।

तनावले हाम्रो शरीरको हर्मोनलाई समेत प्रभावित बनाउँछ । स्नायू प्रणाली, फोक्सो, पेटजस्ता अत्यन्त संवेदनशील अंगमा पनि असर पुर्‍याउँछ ।

तनाव व्यवस्थापनका उपाय

कार्यालयमा काम गर्दा आफूले सोचेजस्तो परिस्थिति मात्र हुन्छ भन्ने हुँदैन । कहिलेकाहीँ नसोचेको वातावरण पनि सिर्जना हुन सक्छ । त्यस्तो परिस्थितिलाई सहज रूपमा स्वीकार गरी सामना गर्न सक्ने धैर्य चाहिन्छ । 

अन्यथा व्यक्तित्वमा समेत असर पुर्‍याउँछ । त्यसैले कार्यालयको समयमा तनावलाई कम गर्न यस्ता तरिका अवलम्बन गर्न सक्छौँः
  • कार्यालय व्यवस्थापले तनाव व्यवस्थापन गर्ने तरिकासम्बन्धी सेमिनार वा वर्कसप गराउने ।
  • कार्यालयमा रिफ्रेसमेन्ट बे्रकको समय निकाल्ने ।
  • तनाव हुन लाग्नासाथ लामो र गहिरो श्वास केही समय लिने र छाड्ने ।
  • तनाव हुने कुरा मनमा आउनासाथ मनलाई अन्ततिर मोड्ने ।
  • समूहमा कार्य गर्ने र एक–अर्कालाई सहयोग गर्ने ।
  • कार्यालयको वातावरण शान्तिमैत्री बनाउने ।
  • योग, ध्यान, प्राणायामलाई आफ्नो दैनिक जीवनमा जोड्ने ।
  • स्वीकार गर्ने कलाको विकास गर्ने ।
  • विश्रामको अभ्यास गर्ने ।

,

प्रतिकृया दिनुहोस्

Loading...