माघ १९ : ज्ञानेन्द्रले कु गरेको इतिहासको कालो दिन

  • काठमाडौँ १९ माघ ।
माघ १९ लाई नेपाली इतिहासमा कालो दिनको रुपमा लिने गरिएको छ । आज माघ १९ अर्थात १२ वर्षअघि आजैको दिन पूर्वराजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकारलाई दोस्रो पटक बर्खास्त गरी तीन वर्षका लागि आफ्नै हातमा सत्ता लिने घोषणा गरेका थिए ।

त्यस परिस्थितिमा उनले नेपालका सबै राजनीतिक दलका नेताहरुलाई समेत नजरबन्दमा राखेका थिए । जसका कारण मुलुकको परिस्थिति नै असामान्य बनेको थियो ।

शाही घोषणालगत्तै मुलुकभरका ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क समेत विच्छेद गरिएको थियो। प्रिपेड मोबाइल त महिनौँसम्म पनि बन्द रहेका थिए ।

विमानस्थल पनि बन्द गरिएको थियो। केबल टिभी बन्द थिए। टेलिभिजन र एफएममा समाचार पढ्न रोक लगाइएको थियो। तत्कालिन शाही सरकारले मिडियाका समाचार कक्षमा हतियारधारी सेना पठाएर समाचार सेन्सर गरिएको थियो ।

जुलुस र धर्नामा पूर्ण रोक लागेको थियो । निरंकुश शासनले नागरिकका मौलिक हकअधिकार कुण्ठित गरिएका थिए। तर यो अवस्था धेरैसमय भने टिक्न सकेन । दलका नेता, पेशाकर्मी–व्यवसायी र आम नागरिक निरंकुशतन्त्रको बिरोधमा उत्रिए ।

तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीबीच भएको १२ बुँदे सहमतीको जगमा दोस्रो जनआन्दोलन सुरु भयो । र, परिणामस्वरप २०६२,०६३ को जनआन्दोलनबाट २ सय ४० वर्षदेखिको राजतन्त्र नै समाप्त भयो ।

जनआन्दोलनपछि शासनसत्ता जनताको हातमा आयो र संविधानसभामार्फत जनताका उपलब्धीहरु संस्थागत गरिएका छन् । 

यद्यपि, उक्त जनआन्दोलन र ऐतिहासिक परिवर्तनवाट अपेक्षा गरे अनुरुप परिवर्तनको महशुस गर्न भने जनताले पाएका छैनन ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...