स्थानीय तह निर्वाचन विधेयक बहुमतले पारित

  • काठमाडौं,२० माघ।

व्यवस्थापिका-संसद्ले स्थानीय तह निर्वाचन विधेयक २०७३ लाई बहुमतले पारित गरेको छ ।

स्थानीय तहको निर्वाचनका लागि अत्यावश्यक मानिएका पाँचमध्ये यसअघि मतदाता नामावली, निर्वाचन कसुर तथा सजाय र निर्वाचन आयोगका काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पारित भइसकेको छ ।

व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिमा राजनीतिक दलसम्बन्धी विधेयक विचाराधीन अवस्थामा रहेको छ । यसअघि उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन विधेयक २०७३ लाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेक थिए ।

सांसदले बैठकमा उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले फरक राजनीतिक सिद्धान्त बोकेका दल र सांसदले निकै चासोका साथ निर्वाचन र लोकतन्त्रका पक्षमा बहस पैरवी गर्नु अत्यन्तै सकारात्मक पक्ष भएको बताए।

उनले भने, ‘संविधानले परिकल्पना गरेका तीन तहको निर्वाचनमध्ये स्थानीय तहको निर्वाचनमा कुल उम्मेदवारमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुने तथा वडा तहमा दुई महिलामध्ये एक दलित अनिवार्य गरेको छ ।’

विधेयकमाथिको बिहीबारको छलफलमा भाग लिँदै सांसदहरूले लोकतन्त्रलाई स्थानीय तहमा क्रियाशील बनाउन निर्वाचन हुन आवश्यक छ भन्दै स्थानीय तहमा लोकतन्त्रको बहाली गर्न निर्वाचनको मिति यथाशक्य छिटो घोषणा गर्न आवश्यक रहेको बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...