जिल्लाको विवादले पत्रकार महासंघको केन्द्रमा तालाबन्दी, मुठभेड देखि महासंघ छाड्नेसम्म प्रेस युनियनको धम्की
काठमाडौं, ३ फागुन ।
नेपाल पत्रकार महासंघको नेतृत्वले आफूखुसी जिल्लाहरुमा नयाँ सदस्य थपेको भन्दै कांग्रेससम्वद्ध पत्रकारहरुले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण जिल्ला शाखाहरुको अधिवेशनसमेत प्रभावित भएको छ ।
कांग्रेस सम्वद्ध पत्रकारहरुको संस्था प्रेस युनियनले सदस्यता वितरणमा धाँधली भएको भन्दै सञ्चारग्रामस्थित महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दीसँगै मंगलबारबाट शुरु भएका प्रदेश नम्बर ४ र ५ का केही जिल्ला शाखाहरुको अधिवेशन पनि अवरुद्ध भएको छ ।
पत्रकार महासंघले पहिलो चरणमा साबिक पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लाहरुमा अधिवेशन तोकेको थियो । अधिवेशनका लागि गएका केन्द्रीय प्रतिनिधिहरुले लगेको सदस्यता लिष्टमा जिल्लाबाट पठाइएका बाहेक केन्द्रबाट राजनीतिक आस्थाका आधारमा सदस्य थपिएको आरोप युनियनले लगाएको छ ।
प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जिल्लामा सहमति भएर आएका बाहेक पनि नेतृत्वले सदस्य थपेकाले ती जिल्लाको अधिवेशन स्थगन हुनुपर्ने बताए । युनियनले चुनाब नरोके आफु मुठभेडमा उत्रिने र महसंघ छाड्ने धम्की समेत दिवको छ ।
यता पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले भने निर्वाचन परिणामको पूर्वआँकलन गरेर अधिवेश स्थगन गरौं भन्नु वा तालाबन्दी गर्नु दुःखद कार्य भएको प्रतिक्रिया दिए ।
तर, एमालेसम्वद्ध प्रेस चौतारी र माओवादीसम्वद्ध प्रेस सेन्टरले भने केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर समस्या समाधान नहुने बताएका छन् ।
प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले सदस्यता विवाद उत्पन्न हुनु र त्यही प्रकरणले जिल्ला अधिवेशन नै स्थगित हुनुपर्ने अवस्था महासंघ नेतृत्वको कमजोरीका कारण उत्पन्न भएको बताए ।
यस्तै प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कुनै जिल्लामा केन्द्रबाट व्यक्ति विशेषले आफूखुसी नाम थपेर पठाएको भए जिल्लामै बसेर टुंगो लगाउन सकिने भन्दै पराजित मानसिकताले तालाबन्दी गर्नु उचित नहुने बताए ।
प्रतिकृया दिनुहोस्
Loading...