प्रचण्डले विपक्षीलाई भने - भ्रम सिर्जना नगर, सरकारलाई सघाऊ

  • चितवन, २६ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चासमेतलाई समावेश गराएर चुनाव गर्नुपर्ने भएकाले मिति तोक्न नसकेको बताएका छन् ।

संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत नभएसम्म स्थानिय तहको निर्वाचन मिति घोषणा नगरिने भन्दै उनले भने, ‘तर, चुनावको मिति तोके बराबर छ ।’

प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासँग वार्ता चलिरहेकाले सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताए ।

प्रचण्डले भने, ‘मधेसी मोर्चासँग वार्ता चलिराख्या छ । एउटा समझदारी बनाउने आवश्यकता छ । उहाँहरुले समझदारी भएपछि मात्रै गते तोक्दा ठीक हुन्छ भन्ने कन्सर्न देखाएपछि अवधि तोकिएको छ । गते कुनै पनि बेला समझदारी हुनेबित्तिकै तोकिन्छ ।’

सबै नेपाली जनताले बैशाख वा जेठमा निर्वाचन गर्ने सरकारको तयारीबारे जानकारी पाइसकेको दावी गर्दै उनले निर्वाचन हुनेमा शंका नगर्न र निर्वाचनमा होमिन सबैलाई आग्रह पनि गरे ।

संविधान संशोधन विधेयक पारित गराउन पहिलो कोशिश हुने भन्दै उनले समझदारी बनाउन अप्ठ्यारो भए अर्को प्रयास थालिने बताए । तर त्यस्तो प्रयास के हो भन्नेबारेमा भने उनले खुलाएनन् ।

नेकपा एमालेले निर्वाचन गर्न नसके सरकार छोड्नुपर्ने बताइरहको छ नि भन्ने भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले निर्वाचन गर्ने प्रतिबद्धता मात्रै होइन, प्रक्रिया नै अगाडि बढाइसकेको छु, तयारी अगाडि बढिसकेको छ । यो अवस्थामा भ्रम सिर्जना गर्ने अभिव्यक्ति दिनुको सट्टा सरकारलाई सहयोग गर्न मैले प्रतिपक्षलाई अपिल गरिरहेको छु ।’

प्रधानमन्त्री प्रचण्डले चुनावलाई धाँधलिरहित, पारदर्शी र मितव्ययी बनाउन भोटिङ मेसिनको प्रयोग गर्ने प्रक्रियाको थालनी गरिसकेको बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...