'जवानी लाग्यो' भन्दै शेरधन राईलाई म्यासेज पठाउने युवती निस्कासित


काठमाडौं, २६ माघ । 

एमाले पार्टीभित्र एउटाले अर्को नेतालाई सिध्याउन महिला कार्यकर्ता प्रयोग गरिएको घटना सार्वजनिक भएको छ । 

सम्भवतः नेपाली राजनीतिकमा यस्तो घटना पहिलोपटक भएको हो ।

आफ्नै सहयोद्धाबाट पीडित भएको भन्दै पूर्वसञ्चार मन्त्रीसमेत रहेका एमालेका युवा नेता शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरासमक्ष लिखित निवेदनसहित न्याय मागेका छन् ।

एमाले स्रोतका अनुसार वैकल्पिक पोलिटब्यूरो सदस्य राई आफूलाई सिध्याउन एमालेकै सांसद तथा पूर्वमन्त्री कृपासुर शेर्पाले अपराधिक क्रियाकलाप गरिरहेको भन्दै उजुरी दिएका हुन् ।

पार्टीले शेर्पामाथि कुनै कारवाही नगरे शेर्पाको आपराधिक करतुत सार्वजनिक गरिदिने र राज्यका निकायबाटै कारवाही गराउने जानकारी समेत राईले पार्टी नेतृत्वलाई गराएका छन् । यसबारे पूर्वमन्त्री राईले राष्ट्रपतिलाई समेत जानकारी गराएको निवेदनमा उल्लेख गरेका छन् ।

वैवाहिक जीवनको तयारीमा रहेका एमाले नेता शेरधन राई यहि युवती काण्डका कारण]पछिल्लो समय निकै ठूलो तनावमा छन् ।


राई भोजपुर-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने कृपासुर शेर्पा क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद हुन् । उनीहरु दुवैजना पालैपालो मन्त्रीसमेत भइसकेका छन् । विगत एक वर्षदेखि एसएमएस मार्फत दुःख दिइरहेकी एक युवतीलाई शेर्पाले नै परिचालन गरेको प्रमाण राईले भेट्टाए ।

शेरधन सञ्चार मन्त्री रहेका बेला उनलाई एमाले सम्बद्ध युवा संघकी केन्द्रीय सदस्य समेत रहेकी एक युवतीले एक वर्षअघि अचानक असजिलो एसएमएस गरेकी थिइन् । त्यस लगत्तै कुरा गर्दा उनले आफ्नो परिचय दिँदै आफूलाई बिहे गर्नुपर्ने शर्त राखिन् ।

उनका बारे बुझ्दा ती युवतीले तत्कालीन प्रधानमन्त्री ओलीको सचिवालय बालुवाटारमै नियुक्ति पाएको थाहा भयो । सञ्चार मन्त्री भएका कारण उनले नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरण मार्फत ती युवतीको नम्बरबाट प्राप्त सन्देश र उनको नियमित सम्पर्क हुने शंकास्पद व्यक्तिहरुको नम्बरसमेत ट्रेस गर्न लगाए ।

युवतीका एकतर्फी एसएमएस र उनको सम्पर्क हुने व्यक्तिको विवरणसहित राईले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।

राईविरुद्ध ती युवती परिचालित भएको बुझिएपछि तत्कालै उनलाई प्रधानमन्त्रीको सचिवालयबाट हटाइएको र युवा संघमा पनि प्रवेश निषेध गरिएको युवा संघका एक पदाधिकारीले अनलाइनखबरलाई बताए । त्यसपछि ती युवती केही मिडियामा समेत शेरधन राईको विरोध गर्दै पुगिन् ।

एउटा एसएमएसः आफूलाई त जवानी लाग्यो

शेरधनलाई सताउने ती युवतीका एसएमएसहरु अस्वाभाविक र अपत्यारिला खालका देखिन्छन् । सयौं एसएमएसमध्ये एउटा यस्तो छ-आफूलाई त जवानी लाग्यो, कोही कोहीलाई बुढेसकाल । उनले यो सन्देश १४ जुन २०१६ मा शेरधन राईको मोबाइलमा पठाएको देखिन्छ ।

उनले सोही दिन राईकै मोबाइलमा अर्को सन्देश यस्तो पठाएकी छन्- दौरा सुरुवाल कालो कोट कालो टोपी र छालाको जुत्ता ट्याक, ट्याक,ट्याक..भुतुक्कै भएँ म त । हिरो त झण्डै त्यहीबेला बेहुला भएको । फूलमाला भए त्यहीबेला लगाइदिने थिएँ मैले त । कति मन परेको थियो मलाई त । लगन जुरेको रहेन छ क्यारे ।

युवासंघबाट निस्कासित

ती युवतीको अस्वाभाविक गतिविधि र शंकास्पद उठबसका कारण पार्टीका नेताविरुद्ध प्रयोग भएको ठहर गर्दै युवा संघले संगठनबाट निश्कासन गरेको छ ।

युवा संघको बुधबारको बैठकबाट उनलाई कारवाही गरिएको हो । ‘संगठनको अनुशासन विपरित पार्टीका नेताको चरित्रहत्या गर्न प्रयोग भएको र चारित्रिक तथा व्यक्तिगत नैतिकतासमेत नरहेका कारण उनलाई कारवाही गरिएको हो’ संघका प्रवक्ता प्रभातविक्रम कटुवालले भने ‘संगठनको एकमतले उनीसहित चार जनालाई बिदा गरेको छ ।’

ती युवतीलाई यसबीचमा पार्टीका बिभिन्न नेताहरुले सम्झाए पनि उनले नमानेको र उनको गृहजिल्ला दोलखाका नेताहरुले ठूलै प्रलोभनमा परेर राईविरुद्ध परिचालित भएको निष्कर्ष निकालेका थिए । एक वर्षसम्मको अनुसन्धान र उनको नियत प्रष्ट भएपछि संघले उनलाई कारवाही गरेको अध्यक्ष राजीव पहारीले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...