नियमावली र विधान बाझिँदा युवा संघमा लफडा, केन्द्रीय कमिटी बैठकमै' ‘हानाहान'

  • काठमाडौं, २६ माघ ।
संस्थापन पक्ष र माधव नेपाल पक्षबीचको विवादका कारण एमालेसम्वद्ध युवा संघको केन्द्रीय कमिटी बैठकमै हानाहान भएको छ र वैठक चार दिनदेखि अवरुद्ध छ । 

राजिव पहारी अध्यक्ष भएपछि पहिलो पटक करीव डेढ वर्षमा डाकिएको बैठक शुरुकै दिन हात हालाहाल भएपछि अवरुद्ध अवस्थामा पुगेको श्रोतको भनाई छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा अध्यक्ष ओलीले उदघाटन गरेको बैठकमा माधव नेपाल पक्षले अन्तरजिल्ला कमिटीहरु भंग गर्न माग गरेपछि विवाद शुरु भएको थियो ।

नेपाल पक्षले पार्टीको नियमावलीले अनेरास्ववियु बाहेक कुनै पनि जनसंगठनमा सम्पर्क कमिटीहरु नरहने भनेकाले नियमावली विपरीतको अन्तरजिल्ला कमिटी भंग हुनुपर्ने अडान राखेको छ ।

अन्तरजिल्लाका इञ्चार्ज तथा युवा संघका केन्द्रीय सदस्य क्षितिज थेबेले बैठकमा रिपोर्टिङ गर्न थालेपछि बैठकको शुरुमै नेपाल पक्षले अवैध कमिटीको रिपोर्ट नसुन्ने भन्दै बैठक बहिस्कार गरेको स्रोतले जनाएको छ । त्यस क्रममा हात हालाहाल समेत भएको एक केन्द्रीय सदस्यले बताए ।

यसबीचमा अध्यक्ष पहारीले विवाद मिलाउन पटक-पटक स्थायी कमिटीको बैठक राखे पनि अझै टुंगो लागेको छैन । 

नेपाल पक्षधर युवा संघ उपाध्यक्ष दिलकुमारी पन्तले पार्टीको नियमावलीसँग बाझिएका कमिटी स्वतः भंग हुने भएकाले आफूहरुले नयाँ विवाद नझिकेको बताइन् । उनका अनुसार यो विषय शेरधन राई इञ्चार्ज भएकै समयमा टुंगिएको हो ।

युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले भने संगठन विभागले युवा संघको विधानअनुसार चल्नू भनेर चिठी पठाएकाले अन्तरजिल्लाको विषयमा थप विवाद आवश्यक नरहेको बताए ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...