पत्रकार महासंघ काठमाडौं शाखाको चुनाव स्थगित
- काठमाडाैं, ३० फागुन ।
शाखाका अध्यक्ष गोविन्दप्रसाद चौलागाँईले सोमबार बेलुका भृकुटीमण्डप कार्यालय शाखाका सदस्यहरुको जानकारी लागि एक सूचना टाँस गरी १ गतेका लागि घोषित अधिवेसन हाललाई लागि स्थगित भएको जानकारी दिएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिवको गैरजिम्मेवारीपूर्ण र निषेधपूर्ण भूमिका कारण अधिवेसन तोकिएको मितिमा गर्न असम्भव भएको सूचनामा उल्लेख छ । शाखा सचिव रामकृष्ण अधिकारीले गैरजिम्मेवारीपूर्ण गतिविधि गरेको र सदस्यता स्थानान्तरबारे महासंघ केन्द्रले समेत आफैंले जारी गरेको सर्कुलर उल्लंघन गरेको सूचनामा जनाउ दिइएको छ ।
अधिवेसन नजिकिँदै गर्दा शाखाभित्रैबाट अवाञ्छित र अमर्यादित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघको साझा पहिचानलाई निस्तेज पार्ने ढंगले सचिव रामकृष्ण अधिकारी र कार्यसमितिकै केही सदस्यले अध्यक्षमाथि नै लाञ्छानापूर्ण ढंगले लगाएको आरोपको खण्डन समेत अध्यक्ष चौलागाँईले गरेका छन् ।
नयाँ सदस्यताको विषय सचिव अधिकारीले गैरपत्रकारलाई बोक्न नछाडेकै कारण टुंगिन नसकेको जनाइएको छ । सचिव रामकृष्ण अधिकारीले केही क्रियाशिल पत्रकारको नाम हटाई इन्जिनियर, मेडिकल सञ्चालक, नातेदार, सिमेन्ट कारखानामा काम गर्ने, विशेष प्रहरीका कर्मचारी, शाखाबाट रसिद नै नकाटी सदस्यता फारम बुझाएकालाई नयाँ सदस्यता दिनुपर्ने जिद्दी गरेका कारण केन्द्रमा बुझाउन नसकेको प्रष्ट पारेका छन् । ४४० मध्येबाट उजुरी परेका ३३ जनालाई कटाएर ३०७ जनाको नामावली महासंघ केन्द्रमा बुझाउन आफू तयार रहेको समेत उनले बताए ।
त्यस्तै सचिव अधिकारीले अधिवेसन प्रभावित हुनेगरी उपत्यकाका विभिन्न प्रतिष्ठान शाखाबाट किर्ते गरी दर्जनौं सदस्यलाई काठमाडौं शाखामा स्थानान्तर गर्न स्वीकृति दिएको र केन्द्रका जिम्मेवार पदाधिकारीले सचिवकै सिफारिसको आधारमा शाखाका अध्यक्षलाई थाहा नदिई स्वीकृत गर्ने काम गरेर विधि र प्रक्रिया मिच्ने काम भएको भन्दै अध्यक्ष चौलागाईले असहमति राख्दै आइरहेका छन् ।
माघ १५ बाट सदस्यता स्थानान्तर गर्न रोक लगाएकोबारे पहिल्यै केन्द्रबाट शाखामा सर्कुलर आएको अवस्थामा मगर र अधिकारीले प्रक्रिया मिचेर गैरजिम्मेवारीपूर्ण तरिकाले काठमाडौं शाखालाई डम्पिङ साइट बनाउन खोजिएको भन्दै क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्रेस चौतारीलगायत पेसागत संगठनहरुले विरोधस्वरुप हप्तादिन पहिल्यै शाखामा गरेको तालाबन्दी जारी छ ।
विज्ञिप्तको पूर्ण पाठः
प्रेस विज्ञप्ति
सबै शाखा सदस्यहरुको जानकारीका लागि,
नेपाल पत्रकार महासंघ काठमाडौं शाखा दशौं अधिवेशनको तयारीमा जुटिरहेको बेला भैरहेका केही अवाञ्छित र अमर्यादित गतिविधिप्रति यस शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । अधिवेशनको तयारीमा लाग्नुपर्ने बेला सिंगो महासंघको साझा पहिचानलाई निस्तेज पार्ने ढंगले सचिव रामकृष्ण अधिकारी र कार्यसमितिकै केही सदस्यले अध्यक्षमाथि नै लाञ्छानापूर्ण ढंगले लगाएको आरोप गलत भएको स्पष्ट पार्दछु । यसविचको ३ बर्षे कार्यकाल विताउँदा पनि सचिव जस्तो जिम्मेवार पदको मर्यादालाई बचाउन र सिकाउन नसकेकोप्रति स्वयम मलाई दुःख अनुभूति भैरहेको छ ।
घोषित अधिवेशनको व्यवस्थापनको तयारीमा लागिरहेको र मेरो नेतृत्वमा गठित मूल व्यवस्थापन समिति अन्तर्गत विभिन्न उपसमिति गठन गरी अधिवेशनको तयारी गर्दैगर्दा माघ १५ बाट स्थानान्तरण रोकिएको सर्कुलर पाएको हाम्रो शाखामा अगाडिको मितिमा चिठीको किर्ते गरेर शाखाबाट सचिवले सहमति दिने र केन्द्रमा महासचिवले पदको दुरुपयोग गरेर जथाभावी सहमती दिएर विधान र पद्धतिको खिल्ली उडाएको प्रसंगसहित नयाँ सदस्यताको विषयलाई ६ ओटा जिम्मेवार संगठनले तालाबन्दी गरेपछि घोषित अधिवेशन प्रभावित बन्ने चिन्ताले शाखाको तर्फबाट वार्ताका प्रयासहरु थालिरहेको थिए । तर, यसबिचमै मेरो त्यो प्रयत्नलाई ध्यान नदिई अमर्यादित र लाञ्छानापूर्ण ढंगले मलाई नयाँ सदस्यता रोकेको भनि विज्ञप्ती जारी गरेको सुन्दा आश्चर्यमा परेको छु । पत्रकार महासंघ एउटा साझा पहिचान र साझा सम्वद्धता भएको संस्था हो । तर, नयाँ सदस्यताको सन्दर्भमा काम गर्ने जोकोहीलाई पनि प्रक्रियाको नाममा सदस्यता प्राप्त गर्ने अधिकारबाट यो वा त्यो नाममा ढिला सुस्ती हुनुहुन्न भन्ने मान्यतामा यस शाखा दृढ छ । सदस्यताका लागि आवेदन परेका ५ सय ५३ ओटा फाइलको अध्ययन गर्दा ४ सय ४० ओटा छनौट गरि उजुरी आएका गैरपेशाकर्मीलाई त्यसैमध्ये ३३ जनालाई हटाइ केन्द्रलाई जानकारी गराउन अनामनगरमा बसेको पदाधिकारी र कार्यदलका सदस्य बीचको बैठकमा सहमति कायम भएको थियो ।
अध्यक्षको हैसियतले प्रस्तुत गरेका नामावली जतिसुकै चाँडो टुङ्ग्याउनुपर्छ भनी उपत्यकाको प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु ईश्वरी वाग्ले र रामहरि सिलवालको उपस्थितिमा बुझाउन खोज्दा सचिव रामकृष्ण अधिकारीले केही क्रियाशिल पत्रकारको नाम हटाउन जिद्दी गरेपछि प्रक्रिया रोकिएको प्रष्ट पार्न चाहन्छु । बैठकमा प्रस्तुत भएका ४ सय ४० मध्ये उजुरी आएका गैरपेशाकर्मीहरु ३३ जना (इन्जिनियर, मेडिकल सञ्चालक, नातेदार, सिमेन्ट कारखानामा काम गर्ने, विशेष प्रहरीका कर्मचारी, शाखाबाट रसिद नै नकाटी सदस्यता फारम बुझाएका जस्ता) बाहेक जुनसुकै बेला पनि केन्द्रमा बुझाउन तयार रहेको प्रष्ट पार्छु ।
यसविच शाखाले सचिव रामकृष्ण अधिकारी सम्मिलित ७ सदस्यीय कार्यदल निर्माण गरेर नयाँ सदस्यहरुको सिफारिसका लागि अध्ययन गर्ने कार्यदल बनाएको थियो । तर, सचिवले पदीय मर्यादा उल्लंघन गरेर आफुलाई मन नपरेका सञ्चार संस्थाबाट आएका डकुमेन्ट थुत्ने, च्यात्ने र गायव गर्ने काम गरिरहेको कार्यदलकै सदस्यहरुले प्रत्यक्ष देखेर वहिष्कार गरी बाहिर निस्किँदा उपाध्यक्ष श्रीजन झाले सम्झाई बुझाई रोक्नुपरेको गुनासो आएपछि मैले स्वभाविक रुपमा चासो लिनुपरेको थियो । उक्त आरोप र गुनासोपछि त्यसलाई मध्यनजर राख्दै सबै फाइल अध्ययन गर्दा कतिपय फाइलहरु सम्पादकले सिफारिस नै नगरेका नामहरु पूर्ण डकुमेन्टमा फेला मात्रै परेनन् गैरपेशाकर्मीसमेतहरु संलग्न गराएको भेटिएपछि उपाध्यक्षसहितको टिमले ५ सय ५३ नामभित्रबाट ४ सय ४० छनौट गरिएको यथार्थलाई बंग्याएर जारी गरिएको विज्ञप्तिप्रति कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु ।
यो संस्थामा म झण्डै १२ बर्षदेखि निरन्तर तपाईहरुको माया र विश्वासले काम गर्दै आएको प्रतिनिधि हुँ । यसअघि पनि मैले यो संस्थाको नेतृत्व लिइसकेको छु । मैले कसैलाई काखा र पाखा कहिल्यै गरेको छैन र गर्नुपनि छैन । मैले विगतमा पत्रकारहरुको हित र भलाईका निम्ति गरेका काम घाम जस्तै सवै छर्लङ छन् । बरु, अहिले महासंघको साझा पहिचानलाई कमजोर बनाउने ति हुन जो पदको गरिमालाई नबुझ्ने, विधि र पद्धती भत्काउने, पत्रकारको हितमा कुनै योजना ल्याउन नसक्ने र परिभाषित जिम्मेवारी पुरा नगर्ने बरु महासंघको अक्षुण्णतालाई भत्काउने र अध्यक्षको विरोध गरेर नेता बन्न पाइन्छ भन्ठान्नेहरु नै हुन् । त्यस्ता प्रवृत्तिहरूको भ्रमपूर्ण कुराबाट सवैलाई समयमै सचेत हुन आग्रह गर्दछु ।
अन्त्यमा शाखामा तालावन्दी भैरहेको र त्यसलाई खुलाउन निरन्तर संवाद र छलफल चलिरहेको एवम आन्दोलनरत पक्षले विधिविपरीत भएका जथाभावी सदस्यता स्थानान्तरण खारेजी हुनुपर्ने, सम्पूर्ण सदस्यको डिजिटल कार्ड उपलब्ध हुनुपर्ने, नविकृत सदस्यको नामावली १५ दिन अगाडि नै सार्वजनिक हुनुपर्ने, नयाँ सदस्यको भागवण्डाको आधारमा नभै सवैलाई समेट्ने गरी क्रियाशिलताको आधारमा टुङ्ग्याउनुपर्ने, केही बरिष्ठ पत्रकारहरुको नाम एकाएक गायव गरिएको र ति नाम समावेश हुनुपर्ने लगायतका मागको सम्बोधन केन्द्रबाट लिखित रुपमा प्रतिवद्धता जाहेर नगरेसम्म ताला नखोल्ने माग राखेकाले सो मागका बारेमा केन्द्रको ध्यानाकर्षण गराइसकेको जानकारी गराउँछु । अतः तालावन्दीका कारण व्यवस्थापन लगायतका धेरै तयारीका काम गर्ने नसकिएकाले अर्का मिति तय नहुन्जेलसम्म २०७३ चैत्र १ गते गर्ने भनिएको अधिवेशन हाललाई स्थगित गरिएको जानकारी गराउँछु ।
मितिः २०७३ फागुन ३० गते
गोविन्दप्रसाद चौलागाई
..............
अध्यक्ष
नेपाल पत्रकार महासंघ काठमाडौं शाखा
प्रतिकृया दिनुहोस्
Loading...