सिआइएले विश्वभरका टिभी र टेलिफोन ह्याक गर्ने गरेको विकिलिक्सको दाबी

  • एजेन्सी, २५ फागुन ।

अमेरिकी गुप्तचर निकाय सिआइएले विश्वभरका टेलिभिजन तथा टेलिफोन ह्याक गर्ने गरेको विकिलिक्सले दाबी गरेको छ ।

विकिलिक्सले सिआइएले ह्याकिङका लागि प्रयोग गर्ने गरेको साइबर हतियारको सूचि सार्वजनिक गरेको छ । यसमा विन्डोज, एन्ड्रोइड, आइओएस, ओएसएक्स र लाइनक्स कम्प्युटर तथा इन्टरनेट राउटरलाई पनि निशाना बनाउन सक्ने भाइरस पनि रहेको विकिलिक्सले जनाएको छ ।

टेलिभिजन तथा टेलिफोन ह्याकिङका लागि प्रयोग गर्ने केही सफ्टवेयर भने सिआइए आफैले तयार गरेको विकिलिक्सले दाबी गरेको छ । यस्तै बेलायतको एमआई फाइभले सामसुङ टेलिभिजनलाई ह्याक गर्न मिल्ने सफ्टवेयर बनाउन सिआइएलाई सहयोग गरेको पनि विकिलिक्सको भनाई छ ।

तर सिआइएले भने विकिलिक्सले सार्वजनिक गरेको सूचनाको पुष्टि गरेको छैन । विकिलिक्सले सार्वजनिक गरेको दस्तावेजका बारेमा आफूहरुले केही प्रतिक्रिया नदिने सिआइएका प्रवक्ताले बताएका छन् । 

बेलायतको गृह मन्त्रालयले पनि यस विषयमा केही प्रतिक्रिया दिएको छैन । तर अमेरिकाको साइबर क्षमताका बारेमा जानकारी राख्ने एडवार्ड स्नोडेनले भने विकिलिक्सले सार्वजनिक गरेको दस्ताबेज तथा सूचना सही रहेको हुन सक्ने बताएका छन् ।

सिआइएले सन् २०१४ मा सामसुङको एफ ८०० सिरिजको स्मार्ट टेलिभिजन ह्याक गरेको र त्यसलाई विपिङ्ग एन्जल नाम दिइएको विकिलिक्सले उल्लेख गरेको छ । यस्तै सिआइएले एप्पल फोनमा पनि आक्रमण गरेको आरोप विकिलिक्सको छ । 

विकिलिक्सले निकै संवेदनशील प्राविधिक विधी बारेको जानकारी सार्वजनिक गरेकाले सिआइएका लागि यो निकै समस्यापूर्ण हुन सक्ने विश्लेषकले बताएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...