यस्तो आयो सप्तरी गोलीकाण्डप्रति एमालेको आधिकारिक धारणा (विज्ञप्तिसहित)
- काठमाडौं, २४ फागुन ।
नेकपा एमालेले मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत सप्तरीको राजविराजमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
घटनालगत्तै सोमबार साँझ रुपनगरस्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै अभियानका क्रममा हिंसात्मक घटना घटाउने षडयन्त्र भइरहेको निष्कर्ष निकालेको छ ।
बैठकबारे जानकारी दिँदै एमाले सचिव योगेश भट्टराईले भने– ‘यो एमालेको अभियानलाई रोक्न हिंसात्मक घटना घटाउने षडयन्त्र हो । यसमा हाम्रो कुनै संलग्नता छैन् ।’
उनले घटनाको दोषी मधेसवादी दल र सरकार भएको बताउँदै हिंसात्मक घटना घटाउने षडयन्त्र आभास भएपछि तीन दिनलाई अभियान स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।
राजविराजस्थित एमालेको सभा विथोल्ने क्रममा सोमबार अपराह्न राजविराजमा भएको झडपमा प्रहरीको गोली लागेर मधेसी मोर्चाका कार्यकर्ता सज्जन मेहताको मृत्यु भएको थियो ।
एमालेद्धारा जारी विज्ञप्ति (जस्ताको तस्तै)
हाम्रो पार्टीको आह्वानमा यही फागुन २१ बाट सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियान अन्यन्त भव्य, प्रभावकारी र शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको र अभियानमा लाखौँ जनता उत्साहपूर्वक सहभागी भइरहेको परिप्रेक्ष्यमा आज फागुन २३ गते राजविराजमा भएको घटनाबाट पार्टी दुःखी भएको छ ।
संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण अभियानमा निस्किएको नेकपा ९एमाले० लाई प्रवेश निषेधको धम्की दिने, कार्यक्रममा सहभागी हुन हिडेका सर्वसाधारणमाथि सांघातिक आक्रमण गर्ने, कार्यक्रमस्थल नजिकै विस्फोटक पदार्थ बिछ्याउने र संयमतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीहरुमाथि ढुंगामुढा, पेट्रोल बम प्रहार गर्ने जस्ता कामहरु गरेर मधेसी मोर्चाका कार्यकर्ताले अत्यन्त अराजक र हिंसात्मक गतिविधिहरु प्रदर्शन गरेका छन् । यसक्रममा आज राजविराजमा एकजनाको ज्यान जाने गरी दुःखद् घटना भएको छ ।
हाम्रो पार्टीले मुलुकलाई जबर्जस्ती मुडभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र अन्ततः संविधानलाई असफल पार्ने षड्यन्त्र हुँदै गरेको विश्लेषण विगतमै गरेको थियो । आजको घटनाले मधेसी मोर्चाको आवरणमा भइरहेका यस्ता षड्यन्त्रकारी र बिध्वांसात्मक गतिविधिलाई नै पुष्टि गरेको छ ।
स्थितिको संवेदनशीलता र सरकारलगायत विभिन्न पक्षको आग्रहलाई ध्यानमा राख्दै पार्टीले फागुन २४, २५ र २६ गते तीन दिनका लागि अभियानका कार्यक्रम स्थगित गरेको छ । फागुन २७ गतेदेखि मेची–महाकाली राष्ट्रिय अभियान पूर्ववत् सञ्चालन हुनेछ ।
योगेश भट्टराई
प्रमुख – केन्द्रीय प्रचार विभाग
प्रतिकृया दिनुहोस्
Loading...