बिरामी बोक्ने एम्बुलेन्सले लेहङ्गा, साडी बोकेको खुलासा 

  • नेपालगन्ज, १८ चैत ।

विभिन्न सामाजिक संस्थाबाट बाँके जिल्लामा सञ्चालित एम्बुलेन्सको दुरुपयोग बढ्दै गएकामा सरोकारवाला र सेवाग्राहीले चिन्ता व्यक्त गरेका छन् । 

जिल्लामा सञ्चालित एम्बुलेन्स ग्रामीणमुखी हुन नसकेको, जथाभावि शुल्क लिने गरेको, रातिको समयमा सेवा दिन आनाकानी गर्ने गरेको, एम्बुलेन्समा यात्रु राखिने गरेको लगायतका गुनासो सेवाग्राहीको छ । 

रेडक्रस, शाख प्रमुख निरजञ्ना मल्लले एम्बुलेन्सको व्यापक दुरुपयोग बढेको स्वीकार्दै त्यसको सुधारका लागि सरकारले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने र एम्बुलेन्स सञ्चालकमा पनि व्यावसायिक इमान्दारिता हुनुपर्ने बताए । 

एम्बुलेन्स सेवालाई व्यवस्थित रुपमा निर्देशिका अनुरुप सञ्चालन गराउने जिम्मा लिएको जिल्ला एम्बुलेन्स सेवा समितिको भूमिका पनि अपेक्षाकृत हुन नसकेकाले पनि दुरुपयोग बढ्नुको प्रमुख कारण रहेको उनको भनाइ थियो । 

प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि सदस्य सचिव र जिल्ला रेडक्रस, जिल्ला प्रहरी कार्यालय र भेरी अञ्चल अस्पतालका प्रतिनिधि सदस्य रहेको सो समितिले एम्बुलेन्स सेवा प्रदायकसँग बेलाबेला अन्तक्र्रिया तथा छलफल गर्नुबाहेक दुरुपयोग नियन्त्रणका लागि ठोस काम भने गर्न सकेको छैन । 

अझ पछिल्लो समयमा जिल्लामा सञ्चालित एम्बुलेन्सलाई सञ्चालकले तस्करीका रुपमा समेत प्रयोग गर्दै आएका छन् । बुधबार एक एम्बुलेन्सबाट सशस्त्र प्रहरी सीमा सुरक्षा बलले जिल्लाको सीमापारि बजारबाट तस्करी गरी ल्याइएको १९८ थान लेहङ्गा, साडी बरामद गरेपछि एम्बुलेन्सलाई सञ्चालकले तस्करीका लागि प्रयोग गर्दै आएको रहस्य खुलेको हो । 

भूपू सैनिक सङ्गठनको नाममा दर्ता भएको सो एम्बुलेन्स कमल क्षेत्रीले ठेक्कामा सञ्चालन गर्दै आएका थिए । प्रहरी नियन्त्रणमा रहेको चालकले क्षेत्रीको निर्देशनमा तस्करीका रुपमा एम्बुलेन्स प्रयोग गर्दै आएको भेद खोलेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...