कञ्चनपुरमा गोविन्द गौतम ढल्दा मैनबत्ती बाल्ने पैसा सापटी खोजु ? अँह सक्दिन म....

लेखक ः लाेकेश विश्वकर्मा ।
प्रिय बन्द बिरोधी बिद्वानहरु, तपाईलाई यो न्याय मागीरहेको सडकमा हार्दिक स्वागत छ । 

आज २८ गते शनिबार तपाईको अफिस बन्द छ । त्यसैले तपाई हिजोराति सुखद शुक्रबारको मौका छोपेर बन्द बिरोधी प्लेकार्डको डिजाइन पक्कै गर्नु भयोहोला । किनभने अधिकार र मुक्तिको लागी गरिने संघर्षमा नेपाल खुल्ला भएको अभिनय गर्ने जिम्मा केहि मनुवाहरुपरेको देखिन्छ । मलाइ लाग्दैन कोही व्यक्ति बन्दको महत्वाकांक्षा सहित जन्मेको हुन्छ भन्ने। 

जव सामाजिक पर्खालहले अगाडी बढ्न बन्देज गर्दछ, जव राजनीतिले रगतको माग गर्दछ, तब पोखिन्छन् युवाहरु सडकमा नेपाल बन्दको रातो कफन बाँधेर । शान्ति प्रिय मित्र सजग भएर आफ्नै मगजले एक पटक एयरपोर्टतिर फर्केर हेर्नुस् त । आफनै देश भाडाका मान्छे उत्पादन गर्ने मुलुक भएको देख्दा तपाईंको स्वाभिमान कहाँ उचो हुन्छ होला र ? सपना बोकेर उडेकाहरु दैनिक सपना मारेर कफिनको बाकसमा आउदा के तपाँइलाई छुदैन र ? के पल-पल सिमानामा आमा दिदि बहिनिहरु वलात्कृत हुदा, दाजुभाइहरु ढल्दा तपाईंको मन मर्माहित हुदैन र ? 

मलाइ यस्तो लाग्छ यि दृश्यले नछुने सायद काेही नेपाली छ । मात्र कुरा के हो भने कोही त्यही घटनाको मूल्य सोच्दछन त कोहि त्यसबाट सदैव मुक्ति खोज्दछ । र अहिलेको संघर्ष पनि यहि केन्द्रित बन्दै छ, दलाल बन्ने या दलाल मुक्त बनाउने ? परिस्थितिले आँसुको होइन, आवेग र प्रतिरोधको माग गरिरहेको छ । तर हामी बिचार र भावनालार्इ मिसमास गरेर खिचडी पकाइरहेछौ । जनताको जिम्मा लिनु पर्ने राज्य जनतालाइ रैती र पराइ शासकलाइ देवता मानिरहेको छ । 

यो राज्य व्यवस्था संचालनको दलाल संसदीय विधि हो । जसका विरुद्धमा अविराम विप्लव गर्नु अनिवार्य छ ।मधेसमा मारिने कालो रंगको नेपाली भाईलाइ धोती मारियो भनेर लेख्न सक्दिन । पहाडमा सामाजिक विकृतीको कारणले हत्या भएका युवाको मृत शरीर हेरेर दलित पो रहेछ भनेर सहन सक्दिन । पश्चिमको छाउ गोठमा हुर्कदै गरेकी युवती सर्पको सिकार बन्दा डोटेली मरिछ भन्न सक्दिन । अनी हिमालमा शेर्पा दाई औषधी नपाएर मर्दा भोटे मरेछ भनेर निदाउन सक्दिन ।

म यस्तो बिशेषता तिमिबाट सिक्न सक्दीन विद्वान मित्र !  म यही र यस्तै कारणहरुले गर्दा तिम्रो चिल्लो व्यवस्थाको बागी बनिरहेछु । तिमी जस्तै गरिबको पेटमा लात मार्ने शान्तिप्रिय सेना हुन सक्दिन म । 

थाहा छ बन्दको पक्ष र विपक्षमा विभिन्न वक्तव्यहरु सामाजिक संजालमा फ्याकिएका छन्। धेरै टेलिभिजनका पर्दाहरुमा खोजिखोजी फाटेका झुत्रे जीवनहरुलाई हेडलाइन बनाइको छ । भाडाको थोत्रो कोठामा बस्नेहरुसँग न त रंगीन एल इ डी टेलिभिजन नै हुन्छ न त डिजिटल रेडियो नै। त्यसैलै तिम्रो व्यापारसँग गरिबहरुको खास लेनदेन नै हुँदैन । आजको दिन तिम्रो पर्दामा देखिने गरिब जीवनले हिजो छाक कसरी टार्यो ? या कति भोकै रह्यो  ? कहिल्यै सुर्ता नहुनेलाई आज विहानै देखी मुटु पोलिरहेको छ जनताको समर्थनले । अनी बोल्दै छन् खान पाएनन् र जान पाएनन् भनेर । 

म तिमी जस्तो अभिनय कलामा पोख्त छैन । त्यसैले तारे होटेलमा गरिबको सपना बेच्न सकिरहेको छैन । अनी कुनै दुष्ट छिमेकीले घरमै छिरेर गोली दाग्दा समेत शान्तीप्रिय हुने शालिनताको कुनै भोको बन्नु पनि छैन । मलाई त्यस्तो कुनै ज्ञानी हुनु छैन की,  कंञ्चनपुरमा गोविन्द गौतम ढल्दा मैन बत्ती बाल्ने पैसा सपटी खोजु ? अह ! सक्दिन म सेल्फीखिच्न ढलिरहेका योद्धाको नजिकै गएर ।

त्यसैले म मुर्ख हुँ यो राज्य व्यवस्था विरुद्धको । म पागल हुँ तिम्रो षडयन्त्र खिलापको । त्यसैले मेरो अनुरोध र आग्रह छ, तिमीले आजको दिन सडकमा गाडी छोडेर भत्ता पचाउन आँउदा अनुहार बिग्रिने चिन्ता गर्नु भन्दा ओरिजिनल कम्पनीको लोसन लगाएर घाम तापेकै जाती होला । कृपया त्यसको भयले केही पाउ घट्नु भन्दा बिग बजारी हलबाट अन्तरवार्ता दिँदा केही राहत मिल्ला बरु । 

थोरै सोच्छु र धेरै खुशी हुन्छु अनि समय र प्रकृतिलाई नमन गर्दछु । किनकी तिम्रै जस्तै चेतना र चातुर्यता बोकेका मान्छे राणाकालमा जन्मिएकाे भए यो देशमा आज राणा शासनले दुइ शताब्दी सफलताको डिनर खाइरहेको हुन्थ्यो । अनी तिम्रै अनुहारको ज्ञान र गुणको मान्छे उबेला जन्मेको भए सायद इष्टइण्डिया कम्पनीको गुलाम प्रान्त बनेर सेवा गरिरहेका हुने थियौं हामी । 

त्यसैले तिमी यतीबेला हुर्किएर हर्षित बनेका छौ, ताकी हामीले तिम्रो षडयन्त्रको समाधान पत्ता लगाइसकेका छौं, त्याे हाे एकीकृत जनक्रान्ती । अन्त्यमा बिद्धान मित्रहरु शान्तिवाटिकामा उभिएर होस् या माइतीघरमा कुर्लिएर नेपाल खुल्दैन । नेपाल त्यो बेला मात्र खुल्नेछ जुनदिन नेपाली जनता शदियौंदेखीको राज्यव्यवस्थाको नजरबन्दबाट मुक्त हुनेछन । 

विन्ती तिमीहरुले मालिकहरुको सेवाको खातिर लम्पसार पर्न छाडेर जनताको न्यायको लागि एउटा स्टाटससम्म हालेर हेर । अनि मालिकको दैलो तिर फर्केर पश्चाताप गर । तिमीबाट यो भन्दा ठूलो अपेक्षा केही गरेका छैनन् जनताले ।

ख्याल गर, दासहरुविचको लडाँइ लडाएर रमिता हेर्ने मालिकहरुको मनशायलाई बुझेर बदलिएनौं भने तिमी स्पार्टाकसको अघिल्लो पुस्ता मात्र बन्नेछौ । मेरो अनुरोध छ स्पार्टाकस बन्ने हिम्मत गर । दलाल राज्यव्यवस्थाकाे नजर बन्दबाट मुक्क्त भएपछि मात्र नेपाल खुल्ने छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...