एसिसि इमिर्जङ कपको पहिलो खेलमा नेपालले अहिले पाकिस्तानसँग खेल्दै
- काठमाडौं, १४ चैत ।
नेपालले एसिसि इमिर्जङ कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा अहिले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।
बंगलादेशकोे शेखकमल स्टेडियममा बिहान जारी खेलमा नेपालले पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग खेल्दैछन् । इमर्जिङ कप क्रिकेटका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय टिममा पनि युवा खेलाडीको बाहुल्यता छ । ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहने नेपाली टिममा युवा खेलाडी धेरै छन् ।
आशिफ शेख, दिलिप नाथ, दिपेश श्रेष्ठ, सुसन भारी जस्ता खेलाडी समेटिएको टिममा दिलिप, दिपेश, र अविनाशमध्ये दुईजनाले बलिङ गर्न पाउने पक्का जस्तै छ । कप्तान ज्ञानेन्द्र मल्लले नेपालको ओपनिङमा आफू र सुनिल धमला नै रहने संकेत गरेका छन् । भर्खरै कीर्तिपुरमा केन्या विरुद्धको खेलमा राष्ट्रिय टिमबाट ओपनिङको जिम्मेवारी पाएका सुनिलले राम्रो प्रर्दशन गर्न सकेका थिएनन् । अस्वस्थताका कारण पारस खड्का टिममा छैनन् भने भेट्रान स्पिनरद्वय शक्ति गौचन र वसन्त रेग्मी तथा पहिलो रोजाइका फाष्ट बलर सोमपाल कामीलाई आराम दिइएको छ ।
नेपाली टिममा सुनिल धमला, दिपेन्द्रसिंह ऐरी, आरिफ र आशिफ शेख, विनोद भण्डारी, सन्दिप लामिछाने, सुसन भारी, भुवन कार्की, अविनाश कर्ण, दिलिप नाथ, दिपेश श्रेष्ठ जस्ता नेपालका उदाउँदा क्रिकेटर छन् ।
उमेर समुहमा राम्रो छाप छोडेका दिपेश श्रेष्ठ १९ वर्षको हाराहारीका मात्र हुन । दिलिप नाथ १९ वर्ष पूरा भएका छन् । सन्दिप १७ वर्षको हाराहारीमा मात्र छन् । लेगब्रेक गुगलीका लागि चर्चित भइसकेका छन् ।
नेपाल आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङसंगै समूह ‘बी’ मा छ । यो प्रतियोगितामा आजै भारत र श्रीलंका, वंगलादेश र हङकङ तथा अफगानस्तान र मलेशिया खेल्नेछन् । विश्वकप नखेलेका तर राम्रो प्रदर्शन गरिरहेका देशलाई एशियाली क्रिकेट काउन्सिलले यो प्रतियोगिता गराउन थालेको हो । प्रतियोगितामा भारत पाकिस्तान श्रीलंका र बंगलादेशले भने २३ वर्षमुनिको टिमलाई सहभागी गराएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...