मोरङमा गोली चल्यो, दुई सासू बुहारीको दिनदहाडै हत्या

- काठमाडौं, ५ चैत्र ।
मोरङको कटहरी-१ मा शुक्रबार अपरान्ह अज्ञात समूहले एक व्यापारिक घरनाका सासु बुहारीको हत्या गरेर घरमा लुटपाट मच्चाएको छ ।
डाँका समूहले गोली प्रहार गरेर सासू ४५ वर्षीया दीपा निरौला (डाँगा) र बुहारी २२ वर्षीया अस्मिता भट्टराई (डाँगा) को हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए । उनले दुबै जनाको हत्या गरेपछि घरमा लुटपाट मच्चाएर डाँका समूह फरार भएको हुन सक्ने बताए । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
घटनामा संलग्नको पहिचान हुन नसकेको उनले बताए । एसपी भण्डारीले घटनामा संलग्नलाई पक्राउ गर्नका लागि सबै नाका सिल गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको जनाए ।
घटना भएका बेला घरमा सासू, बुहारी मात्र थिए । अस्मिताको टाउको र दीपाको शरीरमा गोली लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दुई जनाको शव घरको भिन्दा भिन्दै कोठामा फेला परेको थियो । दुबै कोठामा रगतको आहाल थियो । घटनास्थल विराटनगरको हाटखोलाबाट लगभग दुई सय मिटर पूर्वमा पर्छ । घटनास्थल दिनभर व्यस्त रहने रंगेली-विराटनगर सडक खण्डबाट लगभग ५० मिटर दक्षिणमा छ ।
दीपाका पति एवं अस्मिताका ससूरा इन्द्रचन डाँगा धान व्यापारी हुन् । उनी मोरङको कर्सियामा धानको व्यापार गर्छन । आफ्नो पहिचान खुल्ने डरले हत्यापछि लुटपाट गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाका बारेमा साढे चार बजे प्रहरीले जानकारी पाएको थियो ।
घरमा काम गर्न बसेकी ११ वर्षीय ज्योति शर्माले घटना थाहा पाएर इन्द्रचनलाई खवर गरेकी थिइन ।'म स्कुलबाट फर्किएर घरमा पसेकी थिएँ,' ज्योतिले भनिन्,'भिन्दा भिन्दै कोठामा दुई जनालाई मारेको देखेपछि रुँदैरुँदै अंकललाई भनेपछि उहाँले प्रहरीलाई खवर गर्नु भयो ।' उनले भनिन्,'म स्कुलबाट फर्किएर घर भित्र पस्दा वरपर कोही पनि थिएनन् । घरको भिन्दा भिन्दै कोठा भित्र लास मात्र थियो ।'
इन्द्रचनले आफ्नो कसैसँग केही रिसिईवी नभएको बताए । प्रहरी घटनास्थलमा पुग्दा घरको मुल ढोका भित्रैबाट लगाइएको र पछाडिको ढोका खुल्ला थियो । घटनापछि डाँका समूह घरको पछाडि पट्टीको ढोकाबाट भागेको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...