आज रङहरुको पर्व फागु पूर्णिमा, पहाडी क्षेत्रमा धुमधामका साथ मनाईंदै

- काठमाडौं, २९ फागुन ।
फागुन शुक्ल पूर्णिमाका दिन आइतबार रङहरुको पर्व फागु पूर्णिमा, पहाडी क्षेत्रमा धुमधामका साथ मनाईंदैछ । तराईमा भने होली सोमबार मनाईन्छ ।
असत्यमाथि सत्यको जीत तथा वसन्त ऋतुको आगमनको उल्लाससँगै फागु पूर्णिमा मनाउने गरिएको हो । आजदेखि वसन्त ऋतु सुरु भएको मानिन्छ ।
यस्तै सत्ययुगमा भगवान विष्णुका भक्त प्रह्लादलाई मार्न लाग्दा होलिका आफै जलेर नष्ट भएको भन्ने धार्मिक विश्वास पनि छ । आजको दिनलाई पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुशी साट्ने दिनका रुपमा मनाइन्छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चिर गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा चिर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।
होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ । होली पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका राजनीतिक दलका नेताले शुभकामना सन्देश दिएका छन् ।
राष्ट्रपति भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक रङहरूमा रमाएर मनाइने नेपालीको महान् पर्व फागु पूर्णिमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रूपमा रहेको पर्वलाई सबै नेपालीले खुशी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन्।
शुभकामना सन्देश दिदै उनले विभिन्न रङहरूमा रङ्गिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यस पर्वले सबै नेपालीबिच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबिच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताएकी छन् ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक भएको बताएका छन् ।
फागुपूर्णिमाको अवसरमा प्रधानमन्त्री दाहालले आज एक शुभकामना सन्देश दिँदै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका हाम्रा साझा पहिचान र धरोहरको संरक्षण एवम् संवद्र्धन गर्नु आवश्यक रहेको बताए ।
प्रधानमन्त्रीले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा रहेको र हाम्रा चाडपर्वहरुले समुदायबीच सद्भाव बढाउने तथा समुदायलाई एकताबद्ध गर्न सघाउनेसमेत सन्देशमा उल्लेख गरेका छन् ।
यता काठमाडाैंमा भने होलीमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । बिहानैदेखि काठमाडौं उपत्यकाका चोक चोकमा प्रहरी र ट्राफिक प्रहरी खटिएका छन् । उपत्यकाका चार सय ठाउँम प्रहरीको चेकिङ हुनेछ । होलीकै लागि थप ३ हजार प्रहरी खटिने छन् ।
यस्तै जथाभावी लोला हाने वा रंग दल्नेलाई सार्वजनिक अपराधमा मुद्दा लगाउने र २५ हजार रुपैयाँ जरीवाना समेत हुने प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...